संविधान ‘साउन २५ मा’ आउने

साउन ९, काठमाडौँ – प्रमुख चार राजनीतिक दल साउन २५ गते संविधान जारी गर्न सहमत भएका छन् । कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेता शुक्रबार बालुवाटारमा यस्तो समझदारीमा पुगेका हुन् ।अध्यक्ष सुवास नेम्वाङसँग शनिबार छलफल भएपछि संविधानसभाको यससम्बन्धी कार्यतालिका औपचारिक रूपमै घोषणा हुने भएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले साउन २५ को तिथिमा समझदारी भएको बताए

। ‘मोटामोटी २५ गते भन्ने आए पनि सभामुखसँग छलफल गरेपछि कार्यतालिका तय हुन्छ,’ पौडेलले भने, ‘साउन २५ भन्दापछि कांग्रेसको महाधिवेशनका कारणले सम्भव छैन ।’ कांग्रेसले बालुवाटार बैठकमा बजेट पारित र संविधान जारी गर्ने काम सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको थियो । पार्टीको महाधिवेशनमा सबै नेताहरू खटिनुपर्ने भएकाले त्यसो गरिनुपर्ने कांग्रेसको तर्क छ । कांग्रेसको १३ औं महाधिवेशन असोज २ देखि ५ सम्म राजधानीमा हुँदैछ । स्थानीय तहको अधिवेशन भदौ १ देखि नै सुरु हुँदैछ । ‘भदौ १ गतेदेखि नै कांग्रेस महाधिवेशन सुरु हुन्छ । नेताहरू टाढा–टाढा जानुपर्छ । सबै काम २५ भित्र सक्नुपर्छ भन्ने हाम्रो भनाइ छ,’ पौडेलले भने । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि संविधान जारी गर्न साउन २५ कै तिथि तय भएको बताए । ‘संविधान जारी गर्ने तिथिमा समझदारी भएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै उनका सहयोगी चूडामणि खड्काले भने, ‘शनिबार बिहान ९ बजे सभाध्यक्षसँग छलफल गरी कार्यतालिका तय हुनेछ ।’ एमालेले २० गतेभित्रै संविधान जारी गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

एमालेका प्रमुख सचेतक अग्नि खरेलले यसअघि साउन १५ भित्रै संविधान जारी गर्ने भद्रसहमति भएको बताउँदै ढिलोमा २० गतेभित्र जारी हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको बताए । बैठकमा जनताबाट आएका सुझावलाई कसरी ग्रहण गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । कांग्रेस उपसभापति पौडेलले जनताबाट आएका राम्रा सुझावलाई ग्रहण गर्नुपर्ने बताउँदै त्यस विषयमा चार दलको बैठक शनिबारदेखि नै बस्ने बताए । तर, कस्ता–कस्ता सुझाव ग्रहण गर्ने भन्ने विषयबारे छलफल केन्द्रित नभएको पौडेलको भनाइ छ । बैठकमा सहभागी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले सुझाव ग्रहण गर्नका लागि शीर्ष नेताको बैठक बस्ने र गृहकार्यका लागि कार्यदल बनाउने विषयमा सहमति भएको बताए ।

‘बजेटलाई कसरी टुंग्याउने, भूकम्पपछिको पुनर्निर्माणको काम कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो,’ देवले भने, ‘संविधान निर्माणको प्रक्रियासँगसँगै यी सबै काम अघि बढाउने विषयमा दलहरूबीच समझदारी भएको छ ।’ संविधानको प्रारम्भिक मस्यौदामाथि दुई दिने राष्ट्रिय जनमत संकलन अभियानपछि चार दलको बैठक बसेको हो । कान्तिपुर