कम्युनिष्टका संस्थापक पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवस आज

साउन ७, काठमाडौँ – नेपाली वाम आन्दोलनका अगुवा एवं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । रामेछाप जिल्लाको भँगेरीमा वि।सं। १९८१ साल असार १५ गते जन्मिएका पुष्पलालको मुटु रोगका कारण २०३५ साल साउन ७ गते निधन भएको थियो । दाजु गंगालाल श्रेष्ठलाई राणा शासकहरुले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो ।
तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा थालेका पुष्पलाल दुई वर्ष कांग्रेसको कार्यालय सचिवसमेत भएका थिए । वि।सं। २००६ साल बैशाख १० गते आफ्ना केही सहयोगीलाई लिएर पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । राणा शासनको अन्त्यका लागि वाम प्रजातान्त्रिक एकता आवश्यक भएको बताउँदै आएका पुष्पलालले जीवनभर संयुक्त जनआन्दोलनको पक्षमा आफूलाई उभ्याएका थिए । जननायक बीपि कोईरालाको ३३ औं स्मृतीदिवसको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टीका संस्थापक श्रेष्ठको स्मृति दिवस परेको छ ।