गाईलाई राष्ट्रिय जनावर नमान्ने

साउन ५,बनेपा – तामाङ समुदायको बाहुल्यता रहेको काभ्रेपलाञ्चोकमा राष्ट्रिय जनावरका रुपमा गाईलाई मान्न अस्वीकार गरिएको छ । काभ्रेपलाञ्चोकको काशिखण्ड नगरपालिका भकुण्डेमा भएको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको सुझाव सङ्कलनमा तामाङ समुदायका अधिकांश व्यक्तिले गाईलाई राष्ट्रिय जनावारका रुपमा स्वीकार गर्न सकिन्न भने । काव

भीमखोरी गाविसका शङ्खबुद्ध लामाले गाई र सुँगुरमा तात्विक अन्तर नभएको उल्लेख गर्दै जनावर सबै एउटै हुन् र कुनै जनावरप्रति पनि विभेद नगर्ने बताए । उनले बुद्ध जन्मेको देश भनेर प्रस्तावनामा राख्न सुझाव दिँदै आफू बुद्ध धर्म मान्ने भएकाले काटमार गर्नु हुँदैन भन्ने मान्यता राख्ने पनि बताए ।

पोखरी नारायणस्थान गाविसका खड्गबहादुर लामाले मुलुक धर्म निरपेक्षतामा गएकाले गाई काटेर खान सुरु भएको जिकिर गर्दै गाईको विषयमा विवाद भएकाले विश्वमा दुर्लभ मानिएको एकसिङ्गे गैँडालाई राष्ट्रिय जनावर बनाउनुपर्ने बताए ।

उनले भाषा आयोगले सिफारिस गरेका अन्य भाषालाई समेत सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिँदै संसदीय सुनुवाइको प्रावधान गलत भएको बताए ।

मेच्छे गाविसका डिलबहादुर थोकरले जिरेल र तामाङ समुदायमा विवाह गर्दा गाईको मासु नै आवश्यक हुने भएकाले राष्ट्रिय जनावरका रुपमा गाईलाई राख्न नहुने जिकिर गर्दै राष्ट्रिय जनावर संविधानमा उल्लेख गर्नुनपर्ने बताए ।

उनले राष्ट्रिय झन्डाले समेत सबै भाषा, धर्म, संस्कृतिको समेत प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिए । काशिखण्ड नगरपालिकाका हरिप्रसाद तिमिल्सिनाले गाउँघरमा मासु काटेर भागबन्डा गरेजस्तो स्याउले भागबन्डाको संविधान आउन लागेको आरोप लगाउँदै सबैलाई चित्त बुझाउने हिसाबले प्रस्तावनासमेत लामो गराइएको टिप्पणी गरे ।