संबिधानको मस्यौदामा सुझाव, १६ बुदे विपरीत,हिन्दु राष्ट्रको पक्षमा ९९ प्रतिसत सुझाब

साउन २, काठमाडौँ – संविधानको प्रारम्भिक मस्यौदा सार्वजनिक भएदेखि नै नागरिकले देशभरबाट संविधानमा सुझाव दिइरहेका छन् ।

संसद सचिवालयमा टेलिफोन, इमेल, फ्याक्स, पोष्ट बक्स तथा प्रत्यक्ष रुपमै पनि संविधानमा सुझाव दिनेको ओइरो नै लागेको छ ।
संसद सचिवालयमा जम्मा भइरहेका अधिकांश सुझावहरु दलहरुबीच भएको १६ बुँदे सहमति र मस्यौदामा उल्लेख भएका विषयलाई चुनौती दिने खालका छन् ।

देशभरबाट हिन्दू राष्ट्र कायम हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, त्यति नभए प्रदेशको संख्या पाँच भन्दा बढी कायम नगर्न नागरिकले भनिरहेका छन् । संसद सचिवालय स्रोतका अनुुसार टेलिफोन, इमेल, फ्याक्स, पोष्ट बक्सबाट सुझाव दिने मध्ये झण्डै ९९ प्रतिशतले हिन्दू राष्ट्र र संघीयताको विपक्षमा सुझाव दिएका छन् ।

नारायण बरालले सर्लाही क्षेत्र १ बाट शुक्रबार दिउँसो टेलिफोनबाट हिन्दू राष्ट्र नै कायम गर्न, संघीयतामा नजान, गए पनि सांसदको संख्या थोरै गर्न सुझाव दिए ।
तेह्रथुम मोरङ ४ का हिमराज खतिवडाले टेलिफोनमा भने, ‘नेपाललाई हिन्दू राष्ट्र नै बनाउनु पर्यो, कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्यो ।’ यसरी दलहरुबीच बल्ल बल्ल बनेको सहमतिकै विपक्षमा अधिकांश नागरिकको सुझाव आउन थालेका छन् ।

दलहरुको स्थापित मान्यता विपरीत आएका सुझावलाई जस्ताको त्यस्तै संविधासभामा बुझाउने बताउछन् , सुझाव समिति अन्तरगतको प्रतिवेदन लेखन उपसमितिका संयोजक प्रेमबहादुर गिरी । उनि भन्छन् ‘नागरिकबाट आएका सुझावलाई मेरो समितिले जस्ताको त्यस्तै संविधानसभामा बुझाउँछ, त्यसलाई तोडमोड गर्ने अधिकार सुझाव समितिलाई छैन ।’

संविधासभाले असार २४ गतेदेखि साउन ७ गतेसम्म सुझाव दिन आह्वान नै गरेको छ । सुझाव संकलनको कार्यक्रम यतिबेला राष्ट्रिय अभियानकै रुपमा चलिरहेको छ । सुझाव लिन सभासदहरु पनि मस्यौदा बोकेर गाउँ गाउँमा पुगिसकेका छन् । छोटो बाटोबाट संविधान जारी गर्ने हतारोका कारण दुई महिनाको काम १५ दिन झारेपनि नागरिकले उत्साहपूर्वक मस्यौदामा सुझाव दिइरहेका छन् ।

सरकारले सुझाव संकलनलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउन यही साउन ४ र ५ गते प्रत्येक निर्वाचन क्षेत्रमा सार्वजनिक कार्यक्रम नै राखेको छ । दिनदिनै मस्यौदामाथि नागरिकले सुझाव दिने क्रम पनि बढ्दै गएको बताउछन् नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सचिव डा. भरतराज गौतम ।

तपाई पनि संविधानमा सुझाव दिने महत्वपूर्ण अवसर नगुमाउनुहोस् । त्यसका लागि टोल फ्रि नम्बर १६६०१२२३४४, टेलिफोन फोन नम्बर ४२०००२१ वा ४२०००७२, फ्याक्स नम्बर ४२०००५३, ४२००१९४ वा ४२००१४१, इमेल [email protected] वा[email protected] पोष्ट बक्स न २००९९ र साउन ४ र ५ गते आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा पुगेर सुझाव दिन सक्नुहुन्छ ।