नवलपरासी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो, ५ को सनाखत

साउन १, कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा आज बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मृत्यु हुनेमा दाङ विजौरी–२ का ३२ वर्षका जीवन खड्का, नवलपरासी कावासोती–८ की २३ वर्षीया सुमित्रा लामा, सुमित्रा लामाकी सात महिनाकी छोरी अंशु लामा, नवलपरासी बर्दघाट–६ की ५० वर्षीया माइली लामा, दाङ त्रिभुवन नगरपालिका–२ का ४५ वर्षीय गोविन्द बस्नेत रहेका छन् ।

भारतीय ट्रक र बस एकापसमा ठक्कर खाँदा आठजनाको मृत्यु भएको थियो पछि उपचारका क्रममा एकजनाको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको हो ।

दुर्घटनामा परी घाइते हुनेमा दाङ घोराही नगरपालिका–५ बस्ने २७ वर्षीय शरणनरेश नेपाली, कावासोती–२ की सुस्मिता ढकाल, रुपन्देही हात्तीफर्साटिक–८ का ३० वर्षीय गोपाल रेग्मी, दाङ बिजौरी–३ का सुभाष नेपाली, गोर्खा घ्यालचोकका २७ वर्षीय विनोद अधिकारी, चितवन भउनपा–२ का ४५ वर्षीय, एकबहादुर खत्री र ट्रक चालक भारत देवरिया कञ्चनपुर गाउँ उत्तर प्रदेशका ५१ वर्षीय ब्यास शर्मा रहेको प्रहरीले जनाएको छ ।

उकालो चढ्दै गरेको बस र ओरालो झर्दै गरेको ट्रक एकापसमा जुध्दा बसमा सवार यात्रुको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार यान्त्रिक समस्या नभए ट्रक दोषी रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणघाटबाट दाङतर्फ गुडिरहेको ना४ख ५१४३ नंको बस र विपरीत दिशातर्फ गुडिरहेको सिमेन्ट फ्याक्ट्रीको कच्चा पदार्थ बोकेको युपी ३२ डिएन ०८५४ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।