सभासदहरु आज जिल्लाजिल्लाको निर्वाचन क्षेत्र जाँदै

काठमाडौं, साउन १ – संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवं नागरिकबाट राय सुझाव सङ्कलनका लागि सभासदहरु शुक्रबारदेखि जिल्ला र निर्वाचन क्षेत्र जाँदैछन् ।

मस्यौदा भने यसअघि नै कर्मचारीले क्षेत्र र गाउँ तहसम्म पु¥याइसकेका छन् । सभासदहरु जिल्ला र क्षेत्रमा पुगेपछि मस्यौदाको प्रचारप्रसार र सुझाव संकलनको काम प्रभावकारी बन्ने नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति प्रमिला राणाले बताउनुभयो ।
अहिले पनि टोल फ्रि नम्बर, वेवसाइट, इमेल, फ्याक्स र हुलाकमार्फत सुझाव प्राप्त भैरहेको समितिले जनाएको छ । समितिका अनुसार देशका विभिन्न ठाउँ र विदेशमा रहेका नेपालीले समेत सुझाव पठाइरहेका छन् ।
पहिलो मस्यौदामा नागरिकले दिएका सुझाव र संविधानसभामा पेश भएका फरक मतलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाइनेछ । संवाद समितिले एकीकृत गरेर संविधानसभामा पठाएपछि फेरि मस्यौदा समितिमार्फत संविधानको अन्तिम मस्यौदा तयार हुनेछ ।