लागुऔषधको लतमा प्लस टु पुस्ता

असार ३१, काठमाडौँ एसएलसीपछि उज्यालो भविष्यको सपना बोकेर उच्च शिक्षाका लागि कलेज पढ्न जाने विद्यार्थी लागुऔषधको लतमा फस्ने गरेका छन् ।

गलत संगतका कारण प्लस टु पुस्ता लागुऔषध दुव्र्यसनीको उच्च जोखिममा रहेको प्रहरी अध्ययनको निष्कर्ष छ ।
गलत संगतका कारण प्लस टु तहमा धेरै विद्यार्थी बिग्रिएकाले सुरुदेखि नै उनीहरूमाथि निगरानी आवश्यक हुने प्रहरी अधिकारी बताउँछन् । उनीहरूका अनुसार कलेजमा साथीहरूको लहलहैमा लागेर धेरैले लागुऔषध सेवन गर्ने गरेका छन् ।
नयाँ कुराप्रति आकर्षण हुने र रमाइलोका नाममा प्लस टु पुस्ता लागुऔषध दुव्र्यसनी हुन सक्ने भएकाले सावधानी अपनाउन अभिभावकलाई प्रहरीको सुझाब छ ।
लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का एसपी धीरजप्रताप सिंहका अनुसार नेपालमा धेरैजसोले स्कुल र कलेजमा लागुऔषध प्रयोग गर्न सिक्ने गरेका छन् ।
‘प्लस टु तहका विद्यार्थी लागुऔषधको उच्च जोखिममा छन्,’ एसपी सिंह भन्छन्, ‘लागुऔषध कारोबारीले पनि प्लस टु तहका विद्यार्थीलाई लक्षित गरी कारोबार बढाउने गरेका छन् ।’
गृह मन्त्रालयले आगामी भदौदेखि स्कुल–कलेजलाई लक्षित गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि स्कुल–कलेज आफैँले पनि शिक्षा दिनुपर्ने र नियन्त्रणका लागि कडा निगरानी गर्नुपर्ने प्रहरी अधिकारी बताउँछन् ।
लागुऔषध दुव्र्यसनीको उपचार गराउँदै आएका नेपाल प्रहरीका पूर्वएसएसपी तथा नार्काेनन नेपालका सञ्चालक वसन्त कुँवरले पनि किशोर–किशोरीलाई सजिलै फसाउन सकिने भएकाले ८ देखि १२ कक्षासम्मका विद्यार्थी लागुऔषधको धेरै जोखिममा रहेको बताए । उनका अनुसार नेपालमा डेढ लाखभन्दा धेरै विद्यार्थी लागुऔषधको दुव्र्यसनमा फसिसकेका छन् ।
प्रहरीका अनुसार सुरुमा साथीहरूले पढ्न आउँछ, स्मार्ट होइन्छ भनेर गाँजा सित्तैमा खान सिकाउँछन् । जब उसलाई बानी पर्छ, त्यसपछि किन्न लगाउने गरेका छन् । खासगरी धनी बाबुआमाका छोराछोरीलाई लागुऔषधका कारोबारीले टार्गेट गर्ने गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।