आमसंचार/पत्रकारिता किन पढने?

अविरल थापा –
केही समय अगाडि नेपाल पत्रकार महासंघको सभापति भईसकेका एकजना पत्रकारले सार्वजनिकरुपमै भने ‘पत्रकारिता गर्न पढिरहन पर्दैन।’ उनले यो कुरा होशमा भने अज्ञानमा भने कमजोरी लुकाउन भने वा आफनो सफलता देखाउनभने उनै जानुन्। तर यस कुराले एउटा गम्भीर कुरा चाहिँ के प्रतिविम्वत गर्छ भने अझैपनि घर बनाउन ठेकेदार भएपुग्छ इन्जिनियर चाहिँदैन भन्ने धङधङीबाट हाम्रा अग्रज भनाउँदाहरुको चेतना माथि उठ्न सकेको छैन।
के नेताको भाषण टिपेकै भरमा सँधै पत्रकार भईराख्न सकिन्छ? कि सत्तापक्ष र प्रतिपक्षलाई उचाल्ने र पछार्ने गुण हुनुनै दक्ष पत्रकार भएको प्रमाण हो त? बेलाबेलामा अर्को भ्रमपनि छरिन्छ के पत्रकारिता पढ्दैमा लेख्ने गुण आउँछ र? के राम्रो कवि हुन साहित्यमा डिग्री गर्नैपर्छ र? सत्यकुरा चाहिं के हो भने झुर र खराब पत्रकार नहुन चाहिं पढ्न आवश्यक छ। लेखेको कुरा ठीक भयो वा भएन ,कहाँनिर चुक्यो वा शव्दहरु उत्तर दक्षिण कतातिर बढी झुके त्यो पर्गेल्न चाहिँ पढन अत्ति आवश्यक छ।
व्यवसायिक सीमा र मर्यादा ननाघ्न,आचारसंहिताको क्षितिज नभत्काउन , चाप्लुसीको भर्‍याङ नचढन चाहिं कक्षाकोठाको ज्ञानले राम्रै सिकाउँछ। सिद्धान्तको फराकिलो ज्ञानले दह्रोगरि खुट्टा टेकेर लेख्न,बोल्न ,बहस गर्न र परेको ठाउँमा हाकिमसँग प्रतिवाद गर्नचाहिं पक्कै हिम्मत बढाउँछ।
कतिखेर जागिर खान निवेदन लेख्ने र कतिखेर राजीनामा पत्र लेख्ने भन्ने ब्रम्ह ज्ञानचाहिँ कक्षाकोठामा राम्रोसँग पढने होभने राम्रैसँग जानिन्छ। कुन मन्त्र हो कुन भजन हो छुटयाउने विवेक आउँछ। कुन ढुंगो हो कुन शालिग्राम हो चिन्न सकिन्छ। पार्टीको भतुवा भएर नारा सार्न ,भत्ता पचाएर एनजिओको प्रतिवेदन छाप्न र प्रायोजकको भट्टीमा रक्सी धोकेर अखवारमा वान्ता गर्न चाहिँ पत्रकारिता नपढदापनि खासै फरक पर्दैन।
पढेर सबैकुरा आफैले गर्न सकिने हैन तर अरुलाई ठीक तरिकाले काममा लगाउने ज्ञान चाहिं सकिन्छ नै। आफू कुनचाहिँ पाटोमा योग्य छु भन्ने चेतना पनि अध्ययनले अवश्यै दिन्छ।
पछिल्लो समय सत्ताको नजिक पुग्न, राजनीतिक आस्थाको आधारमा शक्ति आर्जन गर्न र मिडियाको आड लिई आवरणमा अरू धन्दा चलाईराख्न मिडियाको दोकान खोल्ने मालिकहरुको संख्या बढदैछ र पत्रकारको नाममा आफन्त ,कार्यकर्ता र आसेपासेलाई जागिर खुवाएर पत्रकारिताको चीर हरण गरि रमिता देखाउने काम बढदैगईरहेको छ। प्रेस पास झुन्डयाएर दादागिरी गर्ने ,चरित्र हत्या गर्ने र दलाली गर्नेहरुको फौजले नेपाली संचारजगत कलंकित हुनथालेको छ।
संचारमाध्यम खोल्नको लागि चाहिने न्यूनतम विषयगत योग्यता र पृष्ठभूमिको स्पष्ट नीति नहुनु र पत्रकार बन्न चाहिने न्यूनतम शैक्षिक योग्यता र तालिमको मापदण्ड नतोकिनुले कार्यकर्ता, दलाल र धुपौरेहरुले कतै पत्रकारिताको नयाँ पुराण लेख्ने त हैनन् भन्ने नैतिक संकट उत्पन्न हुनथालेको छ। अर्कोतिर वास्तवमै गहन तरिकाले पढेर केही गर्छु भन्नेहरुले चाहिं काममा सहज पहुँच नपाउने, व्यवसायिक मर्यादा अपनाउन खोज्दा जागिर नपाउने वा हात धुनुपर्ने,महिनौं भोकै काम गर्नुपर्ने र योग्यता अनुसार काम ,तलवसुविधा र बढुवा नपाउने घृणित खेल पनि जारीनै छ।
विना विश्वविद्यालयको पढाईपनि स्वअध्ययन, तालिम, ज्ञान र अनुभवको कसीले राम्रो स्थान र पेशागत मर्यादा बनाएका केही अपवादलाई भने नकार्न सकिन्न।
अर्को कुरा धेरैलाई आमसंचार पत्रकारिता पढेपछि विशुद्ध समाचार लेख्ने पत्रकार मात्र बन्ने हो भन्ने भ्रम अझै विद्यमान छ। विश्वमा प्रविधिको विकाससँगै आमसंचारका अनेक हाँगाबिगा विकसित भईसकेका छन्। यसको अध्ययनपछि मूलधारको संचारकर्ममा प्रवेशगर्ने राजमार्ग त खुला हुन्छ नै साथसाथै वैकल्पिक मार्गमा यात्रा गर्ने सुविधापनि उपलव्ध हुन्छ जसलाई धेरैले नजरअन्दाज गरेको देखिन्छ। आमसंचार एवं पत्रकारिता विषय अन्तर्गत मिडिया थ्योरीका अलावा मिडिया म्यानेजमेन्ट, पव्लिक रिलेशन्स, एडभरटाईजिङ, वेब डिजाईनिङ, मिडिया ल ,फोटोग्राफि/भिडियोग्राफि , मिडिया मार्केटिङ, मिडिया रिर्सच लगायत अन्य धेरै विषयहरुको पढाई हुन्छ जसको वर्तमान बजारमा दक्ष जनशक्तिको राम्रो माग छ।
यसतर्फ लाग्ने होभने अझ राम्रो कमाई,नाम र सृजनात्मक काम गर्ने प्रचुर सम्भावनाहरू पनि उत्तिकै पाईन्छन्। पत्रकारिता पढेर के काम भविष्यनै छैन भनेर सामान्यिकरण गर्नु गल्ती हुनेछ। अरु धेरै प्रशस्त फल लाग्ने संभावनाका क्षेत्रहरुमा आफनो रुचि अनुसार अँगालेर अघि बढन सकिन्छ।
आमसंचार एवं पत्रकारिता विषय पढनेहरुको लागि अर्को लोभलाग्दो अवसर भनेको सूचना अधिकृत वा सूचना अधिकारी भएर विभिन्न कार्यालयमा काम गर्न पाउनु हो।
सूचनाको हक सम्बन्धी ऐन, ०६४ ले सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने प्रष्ट व्यवस्था गरेको छ। त्यसैगरी सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्ने कामका लागि एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहनेछ र आयोगमा प्रमुख सूचूना आयुक्त र अन्य दुईजना सूचना आयुक्त रहनेछन् भनिएको छ। तर ती आयुक्त नियुक्तिको लागि योग्यता भने मान्यता प्रा्राप्त विश्वविद्यालयबाट कम्तीमा आमसञ्चार, कानून न्याय, सार्वर्जजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको स्नातक हुनुपर्नेछ भनिएको छ। यसरी अन्य विषय पढेकालाई पनि समावेश गरेर सरकारले नीतिगत रुपमै आमसंचार एवं पत्रकारिता विषय पढेकालाई अन्याय गरेको छ। ती पद र सूचना अधिकारीको हकमा पनि यही विषयमै स्नातक वा स्नातकोत्तर अनिवार्य गरेको हुनुपर्ने प्रावधान भएमा धेरैले यो विषय पढेरै सरकारी रोजगारी पाउने निश्चित हुनेछ भने यस विषयप्रतिको आकर्षण पनि कायम रहनेछ।
सरकारले लोकसेवा अन्तर्गत नै हरेक कार्यालयमा सूचना अधिकृतको लागि जनशक्ति आह्वान गर्दा यही विषय अनिवार्य पढेको माग गर्नु जरुरी छ। डाक्टरी गर्न त्यही विषय पढनुपर्ने,वकालत गर्न कानुननै पढनुपर्ने तर सूचना र संचारमा काम गर्न यही विषय पढाउने कलेज र जनशक्ति पनि उपलव्ध हुँदाहुँदै चोर बाटोबाट अरुलाई प्रवेश गराउनु ठूलो बेइमानी हो।
यो प्रावधानको लागि सरोकारवाला सवैले सरकारलाई दवाव दिनु वा पैरवी गर्न ढिलो गर्नुहुन्न वा आवश्यक परे अदालतमै मुददा हाल्न ढिलाई गर्नहुन्न।
कलेजबाट पढेर निस्कदैमा व्यवहारिकरुपले पनि एकैचोटि निपुण भएर निस्कन्छ भन्ने ग्यारेन्टि दिने हैसियत हाल कसैको छैन। हाल भएका कुनैपनि कलेजहरुसँग पूर्ण रुपमा प्रयोगात्मक कक्षा संचालन गर्ने र सीप विकास गराउन चाहिने सम्पूर्ण पूर्वाधार र पद्धति छैन।
यदि आवश्यक दक्ष जनशक्ति यही देशभित्रै उत्पादन गर्ने हो भने पत्रकारिता पढाउने कलेजहरु र संचारमाध्यमहरुले संयुक्तरुपमा काम गर्नु अव ढिलो भईसक्यो। कक्षाकोठामा पढाउँदै र सँगसँगै काम गराउँदै व्यवहारिक शिक्षापनि सँगै दिनसकेमात्र प्रमाणपत्र लिएर निस्केको पहिलोदिनमै दिक्षित विद्यार्थीले कार्यकक्षमा आफनो भूमिका सम्हाल्न सक्छ। नेपालमा यस किसिमको अभ्यासनै हुनसकेको छैन। संचार माध्यमले चाहेको दक्ष जनशक्ति र विश्वविद्यालयले उत्पादन गरिरहेको जनशक्तिबीच सन्तुलन मिलाउन र चाहेजस्तो जनशक्ति उत्पादन गर्न कसरी सहकार्य गर्न सकिन्छ भन्ने अवधारणाको विकास गर्नु अपरिहार्य भइसकेको छ।
सरोकारवाला बसेर निर्क्यौल गर्नु बुद्धिमानी हुनेछ। यसो गर्न सकिए पढने ,पढाउने र काम गर्ने गराउने सबैलाई फाइदा पुग्नेछ। अनावश्यक ढोंग र ईष्या पाल्नुको साटो दुवैले एकअर्काको कमजोरी स्वीकार गरि सिक्ने सिकाउने वातावरण बनाउनुनै कालान्तरमा सबै पक्षलाई हितकारी हुनेछ। हैन भने पढने मानिसहरु विस्तारै सकिने, पढेकापनि वितृष्ण भई अन्य पेशामा पलायन हुने, देशनै छोडने र विस्तारै पत्रकारिता चेपागाडाहरुको हातमा पर्नेछ जसको मूल्य महँगो सावित हुनेछ। कक्षा कोठाको गुरुले कार्यकक्ष नदेख्ने कार्यकक्षको हाकिमले कक्षाकोठा नदेख्ने स्थितिको अन्त्य हुनुपर्छ। एकअर्काको अस्तित्व नस्विकार्ने परिपाटीको अन्त्य तुरुन्तै हुनुपर्छ।
कक्षामा रटाएको र कितावको पानामा पढेको पढाएको जस्तो मात्र पनि कार्यकक्षमा हुँदैन र न्यूजरुम वा प्रोडक्सनरुममा बनाएको सबैकुरा ब्रम्हाश्त्र हुन्नन् भनेर बुझन यी दुईको सहवास जरूरी छ। नजानेको सिक्दैमा कोही सानो हुँदैन र सिकाउँदैमा महात्मा पनि भईहाल्दैन। नजानेको काम सानै उमेरकोसँग सिक्नपनि हिनता पाल्नुहुँदैन। जानेको काम बामेसर्दै गरेकोलाई सिकाउनपनि झिजो मान्न हुँदैन। जिन्दगीले कहिले कसलाई गुरु कहिले कसलाई चेला बनाईराख्छ भन्ने आर्यसत्यलाई मनन गर्नसके ज्ञानले सति जानुपर्नेथिएन। बेलैमा सबैलाई चेतना आओस्।

थापा पत्रकारिता तथा आम सञ्चार पढाइ हुने पोलिगन कलेज, बबरमहलका प्रिन्सिपल हुन्। साभार – सेतोपाटि