सरकारले नयाँ बजेट असार २९ गते सार्वजनिक गर्ने

असार २६,काठमाडौं – सरकारले आर्थिक वर्ष २०७२र७३ को वाषिर्क बजेट असार २९ गते सार्वजनिक गर्ने भएको छ ।

सभामुख सुवास नेम्वाङले बजेट असार २९ गते पेश गर्ने जानकारी सरकारले दिएको बताए । बजेट एक दिन ढिला हुँदा सभासदहरु जनमत संकलनका लागि जाने दिन पनि सरेको छ ।

‘असार २८ गते बजेट ल्याउन आग्रह गरेको थिएँ,त्यसो गर्दा सभासदहरु संविधानमा जनमत संकलनका लागि पहिलेनै जान पाउने थिए, तर सरकारले त्यो दिन सकिदैन भन्यो’ नेम्वाङले भने ।

बजेट पेश भएर पेश्की बजेट पारित गरेपछिमात्र सभासदहरु जिल्ला जान पाउने भएकाले साउन १ गतेमात्र उनीहरु निर्वाचन क्षेत्रहरुमा परिचालित हुनेछन् ।

नीति तथा कार्यक्रममाथि सभासदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री सुशील कोइरालाले आइतवार दिनेछन् । शनिवार राति नै जवाफ दिने भने पनि सरकारको तयारी नपुगेका कारण आइतवार अपरान्ह १ बजे तोकिएको नेम्वाङले बताए ।