‘बजेटको प्रक्रियागत झन्झट हटाइने’, यस्तो हुँदैछ नयाँ व्यवस्था

असार २६, काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षको कार्यक्रमका लागि आषाढभित्रै स्वीकृति दिने भएको छ ।

कार्यक्रम स्वीकृति र अख्तियारीको प्रक्रियागत झन्झटले पनि समयमा काम सुरु हुन नसक्दा आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको भन्दै यसमा सुधार गरिने भएको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।गोविन्दराज पोख्रेलले आगामी बजेटमा कार्यक्रम स्वीकृति र बजेट अख्तियारीको व्यवस्थामा सुधार गरिन लागको जानकारी गराएका हुन् ।

सन्चार प्रतिष्ठान नेपालले शुक्रबार काठमाडौंमा गरेको आर्थिक वर्ष २०७२र०७३ को पूर्वबजेट छलफलका क्रममा उनले ‘कार्यक्रम स्वीकृतिको कर्मकान्डी प्रणालीमा परिवर्तन आवश्यक देखिएकाले त्यसैअनुसार सुधार गरिन लागेको’ बताएका हुन् ।

उनले श्रावण १ गतेदेखि नै काम सुरु गर्न मिल्ने गरी बजेटको अख्तियारी दिइने र श्रावणको दोस्रो सातादेखि आयोजना सुरु हुने गरी आषाढ वा बढीमा श्रावणको पहिलो साताभित्र कार्यक्रमको स्वीकृति दिइसक्ने व्यवस्था गरिन लागेको उल्लेख गरे ।

आयोगका पूर्वउपाध्यक्ष डा। जगदिशचन्द्र पोख्रेलले सरकारले दुई महिनाभित्र पीडिएनए तयार गरेर अन्तर्राष्ट्रिय समुदायको जितेको विश्वास गुमाउन नहुने गरी उही गतिमा काम गर्नुपर्ने सुझाव दिए ।

यस्तै, आयोगका पूर्वउपाध्यक्ष डा। शंकर शर्माले पुनःनिर्माणका क्रममा ठूलो लगानी आवश्वयक भएकाले सरकारले यसका लागि विशेष ‘इन्सेन्टिभ प्याकेज’ नै ल्याउनुपर्ने उल्लेख गरे ।

अर्थ मन्त्रालयका राजश्व सचिव नवराज भण्डारीले भूकम्पका बेला उद्धारमा नेपालीको क्षमता देखिएको भन्दै यही गतिमा काम गर्नुपर्ने बताए ।