बानेश्वर क्याम्पसले भूकम्पपीडित विद्यार्थीबाट शुल्क नलिने

असार २३, काठमाडौँ – शान्तिनगरस्थित बानेश्वर क्याम्पसले भूकम्पप्रभावित १४ जिल्लाबाट पढ्न आउने विद्यार्थीलाई एक महिनाको शुल्क मिनाहा गर्ने भएको छ । प्रभावित जिल्लामा बसोबास रहेका प्लस टु र स्नातक तहका विभिन्न संकायमा भर्ना हुने विद्यार्थीबाट क्याम्पसले शुल्क नलिने निर्णय गरेको हो ।

गत वैशाख १२ र २९ गतेको भूकम्पबाट प्रभावित विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गर्न क्याम्पसले यस्तो कार्यक्रमको घोषणा गरेको जनाएको छ । क्याम्पसमा हाल अध्ययनरत भूकम्पप्रभावित १४ जिल्लाका सम्पूर्ण विद्यार्थीले समेत एक महिनाको शुल्क मिनाहा सुविधा पाएका छन् । सुविधाबाट क्याम्पसमा हाल अध्ययनरत विद्यार्थीमध्ये झन्डै चार सयभन्दा बढी विद्यार्थी लाभान्वित हुने बानेश्वर क्याम्पसका प्रमुख रमेश कोइरालाले बताए ।

उनले बानेश्वर क्याम्पसले सामाजिक उत्तरदायित्वको निर्वाह गर्दै भूकम्पप्रभावित जिल्लाका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यसहित सहयोग घोषणा गरेको बताए । त्यसैगरी, क्याम्पसले सरकारबाट भूकम्पप्रभावित भएको परिचयपत्र प्राप्त गरेका विद्यार्थीलाई भने दुई महिनाको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । भूकम्पका कारण अभिभावक गुमाएका विद्यार्थीलाई एक वर्षको सम्पूर्ण मासिक शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । नयापत्रिका