यो मस्यौदा अन्तिम होइन: रिजाल

असार २२, काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री एवम् सभासद् डा मीनेन्द्र रिजालले सङ्घीयताको सीमाङ्कन र नामाङ्कनसहितको संविधान पनि जारी गर्न सकिने बताउनुभएको छ ।

‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमाथि संविधानसभामा जारी छलफलमा आज भाग लिँदै उहाँले भन्नुभयो –“संविधानको प्रारम्भिक मस्यौदा जनतामा जाँदैछ, सीमाङ्कन र नामाङ्कनका बारेमा जनताले कस्तो सुझाव दिन्छन् सोहीअनुसार उक्त विषयलाई मस्यौदामा समावेश गर्न सकिन्छ ।”

मन्त्री डा रिजालले भन्नुभयो, “संविधानसभामा प्रस्तुत भई छलफल भइराखेको संविधानको मस्यौदा अन्तिम होइन, यसमा थप गर्न, सच्याउन सकिन्छ ।”

प्रस्तावित मस्यौदाको धारा ८८ मा महिलाको नेतृत्व विकास गर्न प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक राजनीतिक दलले एकतिहाइ महिला उम्मेदवार खडा गर्नुपर्ने प्रावधानको व्यवस्था भएको मन्त्री डा रिजालले बताउनुभयो । “यस्तो प्रावधान नराख्दा महिलाको नेतृत्व विकास होइन, अझ आश्रित बनाउने काम हुन्छ” – मन्त्री डा रिजालले भन्नुभयो ।

उहाँले राजनीतिक लडार्इंको अन्त्य गरी समृद्धिको यात्रामा लाग्न एवम् संविधासभा बहिष्कार नगरी आफ्नो भनाइ र माग यही संविधानसभामा राख्न आग्रहसमेत गर्नुभयो ।

संविधान मस्यौदा समितिका सदस्यसमेत रहनुभएका मन्त्री डा रिजालले सङ्घीयताको विषय उठान गरी संविधानसभा बहिष्कार गर्नु दुर्भाग्यपूर्ण भन्दै मस्यौदा परिमार्जन गर्न सकिन्छ, यो अन्तिम मस्यौदा होइन, अतः म आफ्ना कुरा संविधासभामा राख्न बैठक बहिष्कार गर्ने दलहरुलाई विनम्रतापूर्वक आग्रह गर्दछु भन्नुभयो ।

आफू र समितिका सदस्य रमेश लेखकले मस्यौदाको प्रस्तावनामा बहुलवाद राख्न फरक मत राखेको जानकारी दिँदै उहाँले व्यक्तिको आस्था, विश्वासअनुसार धर्म मान्न पाउने प्रावधान मस्यौदामा उल्लेख भएको बताउनुभयो । रासस