संविधान सभाको बैठक आज पनि बस्दै, मस्यौदा माथि छलफल आज सक्ने तयारी

असार २२ , काठमाडौं –संविधान सभाको बैठक आज पनि बस्दै छ । आज बस्ने बैठकमा नयाँ संविधानको प्रारम्भीक मस्यौदा माथि छलफल जारी रहने छ । आज पनि मस्यौदा माथि बोल्न नाम टिपाएका सभासदहरुले आफ्नो धारणा राख्ने भएका छन् ।

अहिले सम्म बोल्ने सभासदले संविधानको प्रारम्भिक मस्यौदा राजपत्रमा प्रकाशित भएपछि छोटो समयका लागि भए पनि जनताको राय सुझावका लागि लैजानुपर्नेमा जोड दिएका छन्। संविधानसभामा जारी छलफलमा सहभागी प्रमुख राजनीतिक दलका प्रभावशाली नेताले नै केही समयका लागि भए पनि जनताकहाँ लैजानुपर्ने बताएका हुन्। जनताको राय–सुझावपछि संविधानको प्रारम्भिक मस्यौदामा थप केही संशोधन गर्ने व्यवस्था नियमावलीमा गरिएको छ।
यसअघि तय गरिएको कार्यतालिकामा जनताको राय–सुझावका लागि एक महिना छुट्याइएको थियो तर फास्ट ट्र्याकबाट संविधान बनाउने भन्दै अहिले सञ्चारमाध्यममा प्रकाशन र प्रसारण गरेर जनताको राय–सुझाव लिने आन्तरिक तयारी छ । नयाँ संविधानको मस्यौदा माथिको छलफल सम्भवत आजको बैठकमा सक्ने तयारी भएको छ ।