पहिलो मस्यौदामाथि संविधानसभामा आजदेखि छलफल

असार १८, काठमाडौं – नेपालको संविधान २०७२ को पहिलो मस्यौदामाथि संविधानसभामा आजदेखि छलफल सुरु हुने भएको छ । हिजो बसेको संविधानसभा बैठकले नियमावलीमा उल्लेख मस्यौदामाथिको छलफल गर्ने नियम निलम्बन गरेपछि आजदेखि मस्यौदामाथि नियमित छलफल सुरु हुन लागेको हो ।

फास्ट ट्रयाक अर्थात छोटो बाटोबाट संविधान बनाउनुपर्ने भएकाले सभासदहरुका लागि दिइने छलफलको समय बारेको नियम निलम्बन गरेको छ । यसअघि सभासदलाई एक हप्ताको समय दिनुपर्ने उल्लेख भएकोमा अब दुई दिनमा छलफल सक्ने तयारी छ ।
एक जना सभासदलाई तीन मिनेटको समय दिने तयारी रहेको संसद सचिवालयले जनाएको छ । मधेसी दलका केही सभासदले हिजो नियम निलम्बनको संविधानसभाभित्रै विरोध गरेका थिए । आज पनि मधेसी दलका केही सभासदले विरोध गर्ने तयारी गरेका छन् । तर प्रमुख तीन दलले विरोधकाबीच पनि संविधान लेखनको काम नरोकिने बताएका छन् ।
एमाले प्रमुख सचेतक अग्नि खरेलले आजदेखि छलफल हुने र बढीमा तीन दिनमा सकिने बताउनुभयो । संविधानसभाको बैठक दिउँसो १ बजे बोलाइएको संविधानसभा सचिवालयले जनाएको छ ।