अर्थमन्त्री डा. रामशरण महत आज चीन जाँदै

असार १३, काठमाण्डौ – अर्थमन्त्री डा. रामशरण महत आज चीन जाँदै हुनुहुँछ । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को अस्तित्व एवम् सञ्चालनको कानुनी आधार निर्धारण गर्ने विधानमा हस्ताक्षर गर्न उहाँ जान लाग्नु भएको हो ।

उक्त बैंकको विधानमा सोमबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । हस्ताक्षर कार्यक्रममा भाग लिन अर्थमन्त्रालयका सहसचिव एवम् अन्तर्रा्ष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र सोही महाशाखाका उपसचिव प्रेमप्रसाद उपाध्याय शनिबार राति नै त्यसतर्फ प्रस्थान गरेका छन ।
विधानमा हस्ताक्षर गर्न विश्वका विभिन्न २७ मुलुकका प्रतिनिधि बेइजिङ पुग्नेक्रम सुरु भएको चिनियाँ समाचार समिति सिन्हृवाले जनाएको छ । एक खर्ब अमेरिकी डलर चुक्ता पूँजीमा स्थापना गरिएको उक्त बैंकको मुख्य उद्देश्य विकासका पूर्वाधारको अभावमा आर्थिक एवम् सामाजिक उन्नति गर्न नसकेका देशलाई सघाउनु हो । यसै वर्षको अन्त्यदेखि उक्त बैंक सञ्चालनमा आउने सिन्हृवाले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको दुई वर्षअघि सम्पन्न महाधिवेशनले राष्ट्रपतिमा सि जिङपिङ र प्रधानमन्त्रीमा लि खछयाङलाई चयन गरेपछि राष्ट्रपति सीको सक्रियतामा गत वर्ष उक्त बैंक स्थापनाको प्रयास थालिएको छ ।