पर्यटकलाई स्वागत सत्कार गर्दै एमाले

असार ७, काठमाडौ – नेकपा (एमाले)को राष्ट्रिय स्वयम्सेवक अभियानअन्तर्गत मङ्गलबार मुलुकका पर्यटकीय केन्द्र या पदमार्गमा पार्टी नेताको उपस्थितिमा स्वदेशी÷विदेशी पर्यटकलाई स्वागत सत्कारलगायत विशेष कार्यक्रम गरिने भएको छ ।

कार्यक्रमको तयारीका सन्दर्भमा आज सो पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यकर्ता भेलामा स्वदेशी÷विदेशी पर्यटकलाई स्वागत सत्कार, पर्यटकीय सम्पदाको सरसफाइ एवम् भूकम्पले सीमित क्षेत्रमा क्षति पु¥याएको भए पनि नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश दिने जानकारी दिइयो । कार्यक्रमलाई सफल पार्न पर्यटन सम्बद्ध सबै सङ्घसंस्थालाई एमालेले आग्रह गरेको छ ।
अभियानअन्तर्गत काठमाडौँ उपत्यकामा वसन्तपुरबाट पदयात्रासहित ठमेलमा पुगी कन्सर्ट (सांस्कृतिक कार्यक्रम) हुनेछ । बाहिर कञ्चनजङ्गा, हलेसी, जनकपुरधाम, सौराहा, पोखरा, लुम्बिनी, खप्तड, रारा, जोमसोम, ठाकुरद्वारालगायतका पर्यटकीय केन्द्रमा विशेष कार्यक्रम गरिनेछ ।
काठमाडौँको ठमेलमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने र अन्य स्थलमा प्रमुख नेताहरुलाई जिम्मेवारी दिइएको एमाले केन्द्रीय पर्यटन विभागका प्रमुख सूर्य थापाले जानकारी दिनुभयो । यस्तै कञ्चनजङ्गामा उपाध्यक्ष वामदेव गौतम र जनकपुरमा माधवकुमार नेपाल जानुहुनेछ ।
‘हाम्रो सम्पदा हाम्रो पहिचान, पर्यटकलाई गर्छांै सम्मान’ भन्ने नाराका साथ हुने कार्यक्रमको तयारीका लागि राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन र पर्यटन इलाका कमिटीले संयुक्त टोली बनाई तयारी गरेका छन् ।
अभियानका संयोजक एवम् पार्टीका सचिव गोकर्णराज विष्टले राष्ट्रिय विपद्का बेला सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनताबीच अभूतपूर्व राष्ट्रिय एकताभाव निर्माण गरेको बताउनुभयो । पार्टीका अर्का सचिव योगेश भट्टराईले पर्यटन उद्योगमा गम्भीर नकारात्मक प्रभाव पार्ने काम हुन नदिन सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागिएको बताउनुभयो ।
अभियानअन्तर्गत गत जेठ ३१ गते स्वयम्सेवकबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँगको समन्वयमा वसन्तपुर दरबार क्षेत्रमा क्षतिग्रस्त काष्ठमण्डपलगायत सांस्कृतिक संरचनाका मूल्यवान् काष्ठकला समेतका सामग्रीलाई सुरक्षित व्यवस्थापन गरिएको थियो । रासस