मापदण्डविपरीत धमाधम नयाँ भवन निर्माण

असार २, काठमाडौँ – मापदण्डविपरीत धमाधम नयाँ भवन निर्माण भइरहँदा पनि सरकारले कुनै चासो देखाएको छैन । उपत्यकालगायत विभिन्न सहरमा असार मसान्तसम्म भवन निर्माण तथा नक्सा पास बन्द गरिए पनि नयाँ भवन बन्ने र तला थप्ने प्रक्रिया रोकिएको छैन ।

स्थानीय विकास मन्त्रालयले भूकम्प गएपछि संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा धमाधम भवन निर्माण भइरहेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । ‘टोल-टोलमा चार तलासम्म थपिराखेका छन्, सरकारको अनुगमन प्रक्रिया प्रभावकारी भएन,’ कुमारीगालका स्थानीय यादव खरेलले भने, ‘अनुगमन प्रक्रिया फितलो छ ।’ स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले नयाँ भवन निर्माण गर्नेलाई कडा कारबाही हुने चेतावनी दिए । ‘सबै नगरपालिकालाई निर्देशन दिइसकेका छौं, नियम कानुनको उल्लंघन गर्नेलाई कडा कारबाही गरिन्छ,’ उनले भने, ‘नगरपालिकाले अनुगमन गर्नुपर्छ ।’
उपत्यकाका नवघोषित नगपालिकामा भवन निर्माण प्रक्रिया रोकिएको छैन । मापदण्डविपरीत घर निर्माण भइरहेका छन् । ललितपुर उपमहानगरपालिका वरिष्ठ इन्जिनियर रुद्र गौतमले मन्त्रालयको निर्णय नमान्नेलाई कारबाही गर्ने बताए । ‘चार तलाको नक्सा पास गरे पनि तत्कालका लागि निर्माण गर्न पाइँदैन, दुई तला मात्र बनाउन पाइन्छ,’ उनले भने, ‘कार्यकारीको संयोजकत्वमा ललितपुर उपमहानगरमा अनुगमन टोली बनाएका छौं ।’

कसैले मापदण्डविपरीत घर निर्माण गरे तुरुन्त भत्काइने उनले बताए । ‘मौखिक गुनासा त आएका छन् लिखित उजुरी आएका छैनन्, तर अब नगर क्षेत्रमा अनुगमन तीव्र पाछौर्ं,’ उनले भने । सहरी विकास मन्त्रालयल नयाँ भवन आचारसहिंता लागू गर्ने चरणमा रहेको भन्दै गौतमले त्यसपछि मात्र नगरपालिकाले नक्सा पास गर्न दिने बताए । ‘नयाँ भवनको मापदण्ड तयार हुँदै छ, अनि मात्र नयाँ भवन प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘मनोमानी ढंगले कसैले घर निर्माण गर्छ भने त्यसको जिम्मेवारी घरमालिक नै हुनपर्छ ।’
उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीले भवन आचारसंहिताको मस्यौदा तयारी भइसकेको जानकारी दिए । इन्जिनियरको निगरानीमा मात्र घर निर्माण गर्नुपर्ने, तीन तलाभन्दा अग्लो भवनको माटो परीक्षण गर्नुपर्ने, इन्जियिनरले प्रमाणपत्र दिएपछि मात्र घरभित्र बस्न पाउनेलगायतका व्यवस्था आचारसहिंताको मस्यौदामा रहेको उनले बताए । साथै, ६ मिटरको बाटो नभए नक्सा पास नै नदिने प्रावधानसमेत रहेको उनले बताए । ‘दुई तलाभन्दा बढीको भवन निर्माण प्रक्रिया रोक्नैपर्छ, रोकिएको जस्तो लाग्दैन,’ उनले भने ।
महानगरका सूचना अधिकृत महेश काफ्लेले भवन निर्माण नरोक्नेलाई कडा कारबाही गरिने बताए । ‘लापरबाहीको पनि हद हुन्छ, अब पनि लापरबाही गर्ने रु अब कसैले मन्त्रालयको निर्णयविपरीत तला र घर निर्माण गर्छौं भन्ने सपना देख्छ भने, त्यसको जिम्मेवार त्यही व्यक्ति नै हुन्छ,’ उनले भने, ‘प्रत्येक स्थानमा नगर प्रहरीले अनुगमन गरिहेको छ ।’ कान्तिपुर