८ वर्ष जेल बसेर छुटेपछि श्रीमतीको अफिसमा १६ लाखको चोरी

असार २, काठमाडौँ – उपत्यकामा जब चोरी बढ्न थाल्छ, प्रहरी अधिकारीहरू भर्खरै जेलबाट छुटेका कैदीको विवरण पल्टाउन थाल्छन् । चोरी तथा डाँका मुद्दामा जेल परेकाहरू छुटेलगत्तै फेरि चोरीमा लाग्ने भएकाले यस्तो समस्या प्रहरीले झेल्ने गरेको छ । कुनै स्थानमा चोरी हुँदा प्रहरीले पहिला पक्राउ परेकाहरूको विवरणका आधारमा अनुसन्धान थाल्ने गरेको छ ।

राजधानीका चोरीमा प्राय: पटके चोरहरू संलग्न हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । धेरैलाई अदालतले धरौटीमा छाडिदिने र छुटेलगत्तै उनीहरू चोरीमा लाग्ने प्रवृत्ति देखिएकाले उपत्यकामा चोरी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको उनीहरूको भनाइ छ । धरौटीमा छुटेका मात्र होइन, जेल परेकाहरूसमेत छुटेलगत्तै पुन: अपराधमा लाग्ने गरेको महानगरीय अपराध महाशाखाका डिएसपी ओम अधिकारीले बताए ।

नुवाकोटका तेजबहादुर मगर डाँका मुद्दामा आठ वर्ष जेल परेका थिए । तीन दिनअघि प्रहरीले उनलाई पक्राउ गरेको छ । दुईवटा ठूला चोरीमा उनको संलग्नता खुलिसकेको छ । थप घटनामा पनि उनको संलग्नता भएको आशंकामा अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । मगरले २८ जेठमा अमेरिकन नागरिक माइकल जे हेसले सञ्चालन गरेको अनाथालयबाट ३७ वटा ल्यापटप चोरी गरेका थिए । चोरिएका ३३ ल्यापटपसहित उनलाई पक्राउ गरिएको छ । टोखास्थित नेपाल अर्फान होमको द चेल्सिया एजुकेसन सेन्टरबाट उनले ती ल्यापटप चोरी गरेका थिए ।

२० वैशाखमा पनि मगरले ढुंगेधारास्थित रितु केसीको घरबाट पाँच लाख ८४ हजारबराबरको धनमाल चोरी गरेको महाशाखाका एसपी प्रकाश अधिकारीले बताए । उनले भने, ‘मगर मातातीर्थ र कीर्तिपुरमा भएका ठूला डकैतीका घटनामा आठ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।’ श्रीमतीले काम गर्ने एजुकेसन सेन्टरमा पनि मगरले चोरी गरेका थिए । श्रीमतीलाई थाहा नदिई साँचो लिएर साथी रवि साहसँग गएर शनिबार बिहान उनले चोरी गरेका हुन् । प्रहरीका अनुसार घरको माथिल्लो तलामा मानिस सुतिरहेका वेला तल्लो तलामा रहेको कार्यालयको ढोका खोलेर उनले ल्यापटपहरू चोरी गरेका हुन् । उनले ट्याक्सीमा राखेर चोरीका ल्यापटप ओसारेका थिए । बिक्रीका लागि ती ल्यापटप उनले कोटेश्वर बस्ने दीपक गुप्ताको कोठामा राखेका थिए ।

चोरी गरेकामध्ये चारवटा ल्यापटप बेचिसकेका थिए । मगरकै समूहले २० वैशाखमै गहना, ल्यापटपलगायतका सामान चोरी गरेको थियो । काभ्रेका रामबहादुर लामा, दोलखाका सुमन थापा र सिन्धुलीका तुलसबहादुर थापासहितको समूहलाई प्रहरीले पक्राउ गरिसकेको छ । अपराध महाशाखाले ५ जेठमा पेम्बा लामाको समूहलाई पक्राउ गरेको थियो । सो समूहले भूकम्पको मौका छोपी राजधानीका विभिन्न स्थानमा चोरी गरेको थियो । उनी यसअघि पटक–पटक पक्राउ परेका व्यक्ति हुन् । तर, छुटेलगत्तै उनी फेरि चोरीमै लाग्ने गरेका छन् । ‘पक्राउ गरेर ल्याउँदा चोरीबाहेक अरू केही जानेको छैन भन्छ,’ अपराध महाशाखाका डिएसपी गजुसिद्धि बज्राचार्य भन्छन्, ‘राजधानीमा धेरैजसो पटके चोर छन् ।’ पेम्बा अहिले पनि काठमाडौं परिसरको हिरासतमा छन् ।

२२ जेठमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले पनि जेलबाट छुटेलगत्तै चोरीमा लागेका शशी विकलाई पक्राउ गरेको थियो । दुई वर्ष जेल बसेर केही महिनाअघि छुटेका उनले वैशाख र जेठ महिनामा मात्र तीन स्थानमा चोरी गरिसकेका थिए । त्यस्तै, ०६८ मा पनि उनी चोरी घटनामै पक्राउ परेका थिए । सो घटनामा उनलाई दुई वर्ष सात महिना कैद र ५० हजार जरिवानाको सजाय भएको थियो । उनी सजाय भुक्तान गरी गत वर्ष मात्र रिहा भएका थिए । रिहा भएलगत्तै उनी फेरि चोरीको अपराधमा संलग्न भएको डिएसपी सीताराम रिजालले बताए । धेरै दिन लगाएर आफूहरूले चोर समाउने, तर उनीहरूलाई सामान्य मात्र कारबाही हुने समस्याले चोरी नियन्त्रण प्रभावकारी हुन नसक्ने प्रहरीको गुनासो छ ।

उपत्यकामा पाँच सयभन्दा धेरै पेसेवर ‘चोर’ रहेको प्रहरीको अनुमान छ । यसमध्ये करिब ६० जना प्रहरी हिरासतमा छन् । १२ वैशाखको भूकम्पयता महानगरीय अपराध महाशाखाले मात्र ५० जना चोरीका अभियुक्त पक्राउ गरेको छ । पक्राउ परेका केही जेलमा छन् । तर, ठूलो संख्यामा चोरीका अभियुक्त पक्राउ परे पनि चोरीका घटना नियन्त्रण हुन सकेको छैन ।

सयभन्दा धेरै पाकेटमारहरूको समूहसमेत राजधानीमा सक्रिय रहेको प्रहरीले जनाएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा विभिन्न चोरका समूह सक्रिय हुने गरेको प्रहरी अधिकारी बताउँछन् । दिउँसो चोर्ने, राति चोर्ने तथा केही सिक्री तान्ने त केही हतियार देखाएर डकैती गर्ने समूह सक्रिय रहेको प्रहरीले जनाएको छ । नयापत्रिका