संविधान नबनेसम्म पद छाड्दिनँ : प्रधानमन्त्री

जेष्ठ २९, कठमाण्डौ – प्रधानमन्त्री सुशील कोइरालाले ‘संविधान जारी नभएसम्म पदत्याग नगर्ने’ प्रष्ट पारेका छन् ।

शुक्रबार बिहान आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ–संस्थाले जम्मा गरेको रकमको चेक बुझ्दै कोइरालाले ‘आफूलाई धेरै दिन पदमा बस्ने रहर नभएकाले छिटो संविधान जारी गर्न’ सबै दलसँग आग्रह गरे । ‘आफू पद ओगट्न प्रधानमन्त्री नबनेको’ कोइरालाको भनाइ थियो ।

प्रधानमन्त्रीले दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम दुरुपयोग हुन नदिने वचन पनि दिए ।

शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डोल्पु समाजले ७ लाख, पस्मिना संघले १० लाख, पुन समाज नेपालले २० लाख ७७ हजार, कम्पनी रजिष्टार कार्यालय कर्मचारी संगठनले १ लाख ८३ हजार रुपैयाँ जम्मा गरेका छन् ।