अविरल वर्षाका कारण ताप्लेजुङमा पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा समस्या

जेष्ठ २९, ताप्लेजुङ – अविरल वर्षाका कारण ताप्लेजुङमा पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा समस्या भएको छ । ताप्लेजुङका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाका अनुसार अहिले पनि पानी परिरहेकाले समस्या भएको छ ।

गए राती पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । प्रहरीले भने २१ जनाको शब प्राप्त भएको र ३७ जना हराइरहेका जनाएको छ । प्रमुख जिल्ला अधिकार डम्बरुप्रसाद निरौलाका अनुसार घाइतेमध्ये ६ जनालाई उपचारका लागि धरान पठाइएको र ६ जनाको जिल्ला असपतालमा उपचार भइरहेको छ ।
आज बिहानैदेखि हेलिकोप्टरबाट खोज तथा उद्धारको काम गरिने उहाँले बताउनुभयो । प्रहरीका अनुसार लिङतेपका चमेली लिम्बू र मनमाया लिम्बु, लिवाङका देबेन्द्र लिवाङ, खोक्लिङका सविन मादेन र बसन्त बिकको सनाखत भएको हो ।
जिल्लाको पश्चिमी गाविस थिङलाबु ६ बाट अहिलेसम्ममा १२ जनाको शव निकालिएको स्थानीयबासिन्दाले बताएका छन् । यी गाविसबाट अझै केही सम्पर्कमा नआएकाले ज्यान गुमाउनेको संख्या अझै बढ्ने प्रहरीले अनुमान गरेको छ । खामलुङ गाविसका केही वडामा पनि पहिरो गएको छ ।
ज्यान गुमाएकामध्ये सबैभन्दा धेरै एकै परिवारका ९ जना सहित १८ जना छन् । त्यस्तै १२ जनाको शव थिङलावुबाट निकालिएको छ, २ जनाको शव खोक्लिङबाट, २ जनाको शव सान्थाक्राबाट, १ जनाको शव लिबाङबाट र दुई जनाको शव लिङतेपबाट निकालिएको प्रहरीले जनाएको छ ।