संविधानसभामा रहेका सबै दलहरुको सर्बदलिय बैठक बस्दै

जेठ २३, काठमाडौँ – प्रमुख चार दलको आहवानमा संविधानका विवादित विषयमा राय सुझाव लिन आज संविधानसभामा रहेका सबै दलहरुको सर्बदलिय बैठक बस्दै छ । प्रमुख चार दलले प्रदेशको संख्या र सीमांकनका विषयमा संविधानसभाभित्र रहेका सबै दलसँग छलफल गर्ने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहि समय पछि बैठक सुरु हुँदै छ । यसअघि चार दलका शीर्ष चार नेताको बैठकले सबै दलको सुझाव लिएर सहमतिको प्रस्ताव तयार पार्ने सहमति गरेका हुन् । संघीयतामा चार दलबीच ६ वा ८ प्रदेशको विकल्पमाथि छलफल भइरहेको छ । माओवादीले भौगोलिक पहिचानसहितको ८ प्रदेशको प्रस्ताव अघि सारेको छ । कांग्रेस र एमालेले भने नामांकन प्रदेशसभाले गर्ने र सीमांकन आयोगले गर्ने गरी ६ प्रदेश बनाउनु पर्ने अडान लिँदै आएका छन् । सर्ब दलिय बैठक पछि आजै ४ दलको बैठक पनि बस्ने भएको छ ।
चार दलले संविधानसभाको २५ गतेको बैठक बस्नु अघि नै सहमति गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताको बैठकले संघीयता अन्तर्गत प्रदेशको संख्या र सीमांकनको विषयमा रहेको विवाद २५ गतेसम्म मिलाउने र सहमतिबाटै संविधान निर्माणको प्रक्रिया अगाडि बढाउने समझदारी गरेका हुन् ।