सरकारले उपलब्ध गराउने आर्थिक सहयोग रामेछाप जिल्लाको सम्बन्धित गाविसको खातामा निकासा

जेठ १८, रामेछाप, जिल्लामा सरकारले उपलब्ध गराउने १५ हजार आर्थिक सहयोग सम्बन्धित गाविसको खातामा निकासा गरिएको जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापले जनाएको छ ।

हिजो रामेछाप जिल्लाका २ गाविसको १ करोड ३६ लाख ६५ हजार रुपैयाँ निकासा गरिएको छ । जस अन्तर्गत रामपुर गाविसको ७५ लाख र भुजी गाविसको ६१ लाख ६५ हजार रुपैयाँ निकासा भएको हो । समितिका अनुसार अन्य गाविसमा पनि आवश्यक प्रक्रिया पुरा गरी आएमा तत्काल निकासाको व्यवस्था मिलाइएको छ । विनाशकारी भुकम्पका कारण प्रभावित बनेकाहरुलाई पहिलो चरणको राहत वितरण गरे लगत्तै समितिले यो दोस्रो चरणको राहत वितरण आजबाट सुरु गरेको छ । हालसम्म रामेछापमा ५६ हजार ५ सय थान त्रिपाल वितरण भइसकेको छ ।
त्यसैगरी टेन्ट १ हजार १ सय ९४ थान, चामल १५ हजार बोरा, कम्बल २२ हजार २ सय ३८ थान वितरण गरी सकिएको छ । समितिको हिजो बसेको बैठकले थप विभिन्न निर्णयहरु गरेको छ । जसमा रामेछापको क्षतिग्रस्त संरचनाको पुन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ ।
त्यसैगरी जिल्लामा सञ्चालनमा रहेको सवल कार्यक्रम दुरागाउँ, भुजी, सैफु, लखनपुर र गौस्वारामा सञ्चालन गर्न स्वीकृति दिइएको छ । शान्ति र विकासका लागि युवा साझेदरी नेपाललाई ठोसे, नामाडी, बेताली, गोठगाउँ, गेलु, सालु, तिल्पुङ, साँघुटार, खिम्ति, सुकाजोर, ओख्रेनी, मन्थली ३ र पुरानागाउँमा प्रत्यक्ष राहत प्रदान कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ ।
त्यस्तै नेपाल ग्रामीण पुननिर्माण संस्थालाई १ हजार सेट आपतकालिन आवास प्याकेज गौस्वारा र गुप्तेश्वर गाविसमा उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने सहमति भएको छ ।
सदरमुकाम मन्थलीलाई जिल्लाको क्षेत्र नम्बर २ जोडने आकाशे को पुल यथाशीघ्र सम्पन्न गर्न सडक विभागलाई अनुरोध गर्ने निर्णय गरेको छ । विश्व खाद्य कार्यक्रमलाई खाद्य सुरक्षाका आधारमा राकाथुम, खनियापानी, कुबुकास्थली, बाम्ती भण्डार र गुम्देल गाविसमा खाद्यान्न वितरणको अनुमति दिने र अरनिको यातायात ब्यावसायी सेवा समितिले जिल्लालाई उपलब्ध गराउने ४३ वण्डल जस्तापाता कक्षा सञ्चालन गर्न नसक्ने अवस्था भएका विद्यालयलाई प्रदान गर्ने गरी जिल्ला शिक्षा कार्यालयलाई दिने लगायतका निर्णयहरु भएको समितिले जनाएको छ ।
नारायण श्रेष्ठ