जेठ १४,रामेछाप- सदरमुकाम मन्थलीबाट खासै टाढा नभए पनि भूकम्पपछि खोज, राहत र उद्धारका हिसाबले प्राथमिकतामा पर्न नसक्नु आफूहरूका लागि दुर्भाग्य बनेको स्थानीयवासीले गुनासो गरेका छन् ।
“भएको अन्नपात भुइँचालोले घर भत्किँदा सबै पुरियो, बारी बाँझै छ, पालमुनिको बास भएको छ, अहिलेसम्म सरकार एक पटक पनि फर्केर आएको छ”– गुन्सीभदौरे–१ की ८२ वर्षीया साहिँली माझीले दुःखेसो गर्नुभयो, “वर्षात्को समय भएको हुँदा अरूभन्दा साना नातिनातिनाको बिचल्ली भएकाले सरकारले दुई पाता मात्र जस्ता दिएका खण्डमा बस्ने बासका लागि टहरो बनाउने थिएँ । ”
गुन्सी–१ कै ६० वर्षीया नवीना माझीले पनि सरकारले जस्तापाता मात्र दियो भने बरू गाउँले आफँैले काठ र डाँडाभाटा जुटाएर श्रमदान गरी टहरा बनाउने बताउनुभयो । मन्थलीबाट करिब ८० किमी उत्तरतर्फ पर्ने गुन्सी गाविसमा एक हजार ६०० घरधुरी छन् ।
गत वैशाख १२, १३ र २९ गतेको भूकम्प र पराकम्पनले सो गाविसका ९० प्रतिशत घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन् । बचेका घरसमेत बस्न नमिल्ने गरी चर्किएका छन् । दिउँसो भएकाले मानिस खेतबारीमा गएका कारण सो गाविसमा मानवीय क्षति भने भएको छैन । जागिरको सिलसिलामा काठमाडौँ र सिन्धुपाल्चोक गएका गुन्सी गाविसका तीन युवाको भूकम्पका कारण मृत्यु भएको स्थानीयवासीको भनाइ छ ।
भूकम्पपीडित स्थानीयवासी चन्द्रा माझीले भन्नुभयो, “यहीँ त्रिपाल टाँगेर बसेका छौँ, त्यही पनि हावाहुरी र पानीले उडाएर तल बेंसीमा पु¥याउँछ, खै कसरी बाँच्ने हो ?” माझी समुदायको बसोबास रहेको गुन्सी– मा सरकारका तर्फबाट एउटा त्रिपालसमेत नपाए पनि विभिन्न सङ्घसंस्था र व्यक्तिको पहलमा राहतको नाममा दाल, चामल पाएको स्थानीयवासीको भनाइ छ । पछिल्लो पटक ‘परिवर्तनका लागि युवा’ नामक संस्था र ‘राई एन्ड राइनी’ सेवा सङ्घमा आबद्ध युवाले संयुक्त रूपमा आफैँले जुटाएर गुन्सी गाविस–१ का माझी समुदायलाई राहत वितरण गरेका छन् ।
युवाले १० बोरा चामल, २५ थान त्रिपाल, १५ बाकस चाउचाउ, दुई बोरा नुन, १५ बोरा चिउरा र करिब ३०० जोर लुगा वितरण गरेको ‘परिवर्तनका लागि युवा’का अध्यक्ष जागृत पहाडीले बताउनुभयो । ती संस्थामा आबद्ध करिब १५० युवा रामेछाप, दोलखा, ललितपुर, भक्तपुर र कीर्तिपुरलगायत भूकम्प प्रभावित जिल्लामा राहत वितरणसँगै टहरा निर्माणमा सक्रिय हुँदै आएको ‘राई एन्ड राइनी’ सेवा सङ्घका उपाध्यक्ष कला राईले जानकारी दिनुभयो ।
गुन्सीबाट सदरमुकाम पुग्न करिब तीन घन्टा पैदलयात्रा गरी चार घन्टा मोटर चढ्नुपर्ने स्थानीयवासीको भनाइ छ । माझी उत्थान समाजका अध्यक्ष तथा गुन्सी–१ का भूकम्पपीडित विक्रम माझीले करिब एक हजार ६०० जनसङ्ख्या रहेको सो गाविस काभ्रेपलाञ्चोकको मादनकुँडारीसँग जोडिएको छ । मादनकुँडारी र गुन्सी गाविसलाई गौरी खोलाले छुट्याएको छ । रामेछाप जिल्लाको दुर्गम गाविस भएका कारण पनि सरकारका तर्फबाट कोही फर्केर नआएको सतलिङ्गेश्वर उमाविका शिक्षक जीवनाथ गौतमले गुनासो गर्नुभयो ।