तराइमा गर्मी बढ्यो, अस्पतालमा विरामीको चाप

जेठ १३,नवलपरासी,कञ्चनपुर, बर्दिया- केही दिनदेखि बढेको गर्मीका कारण तराई क्षेत्रको जनजीवन नराम्रोसंग प्रभावित बनेको छ ।

गर्मीले पश्चिम तराईका चितवन, रुपन्देही, नवलपरासी, बांके, बर्दियाको साथै पूर्वी तराईका धनुषा, महोत्तरी, सिरहा, सर्लाही, मोरङलगायतका जिल्ला प्रभावित बनको छ ।
गर्मीको प्रभाव सबैभन्दा बढी रुपन्देही, बांके, कैलाली र पूर्वको मोरङमा देखिएको छ । यि जिल्लाहरुको तापक्रम ४० डीग्रि नाघेको छ । गर्मीका कारण जिल्लाका स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप समेत बढ्न थालेको छ ।
दिनमा चर्को गर्मीका कारण दिउंसोको समयमा बजार क्षेत्रमा मानिसहरु चहलपहल घटेको छ । अत्याधिक गर्मीका कारण सर्वसाधारणमा रिंगटा लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
तराई क्षेत्रका बजारहरु दिउंसोको समयमा सुनसान हुन थालेको छ । गर्मी मौसममा मानिसको शरीरमा रहेको पानीको मात्रा पसिनाको रुपमा बाहिर निस्किने भएकाले बढी झोलयुक्त खानेकुरा खान र स्वच्छ पानी पिउनुपर्ने सल्लाह स्वास्थ्यकर्मीको छ । गर्मी बढेसंगै तराईका जिल्लाहरुमा चिसो पेय पदार्थको व्यापार भने फस्टाएको छ ।
उता, लोडसेडिङ खेप्दै आएका सर्वसाधारणले थप बिद्युत कटौती भइरहनाले दिउंसो कार्यालयमा बसेर काम गर्न समस्या हुने गरेको र रातमा सुत्न समस्या भएको गुनासो गरेका छन् ।