कालीगण्डकी नदी अब खतरामुक्त

जेठ १२,काठमाडौं – म्याग्दी बैसरीमा पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी नदी अब खतरामुक्त अवस्थामा रहेको जनाइएको छ ।

पहिरो खस्ने क्रम जारी रहेको भए पनि अब कुनै जोखिम भने नरहेको स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेनाका कर्णेल राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले पहिरोको अवलोकन गरेर केही दिनसम्म पहिरो खस्ने क्रम नरोकिए पनि यसले खासै असर नगर्ने बताउनुभयो ।
नदी थुनिएर बनेको तालमा पानीका सतह कम हुँदै गएको छ । अब नदी थुनिन सक्ने सम्भावना पनि नरहेको जनाइएको छ । पहिरो र डुबानमा परेका बैसरीका २६ घरको भग्नावशेषसमेत फेला पर्न नसकेको म्याग्दी बस तथा जिप व्यवसायी सङ्घका उपाध्यक्ष मोहन केसीले बताउनुभयो ।
यसैविच भुकम्पको त्रास पुरै देशमा सेलाउँन नपाउँदै कालिगण्डकी थुनिएर त्रसित भएका म्याग्दी बैसरी गाउँका किनारबासीले तत्काल बासस्थानको व्यवस्था गरिदिन माग गरेका छन् ।
आइतबार मध्यरातमा पहाडबाट खसेको पहिरोले पुरिएको नदि किनारका बैसरी गाउँका ११ घरपरिवारले तत्काल बासस्थानको व्यवस्था गरिदिन माग गरेका हुन् ।
पहिरोले कालीगण्डकी नदी किनारामा रहेको बैसरी र औल गाउँ पुरेर बगर बनाएको छ । पहिरोका कारण घरबासविहीन भएका सर्वसाधारणलाई जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, सम्बन्धित गाविस र विभिन्न सङ्घसंस्थाले विद्यालयमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छन् ।