यी हुन अमेरिकी हेलिकप्टर चढ्दा ज्यान गुमाएका नेपाली सैनिक

जेठ ६, काठमाडौँ – केही दिन अगाडी भूकम्प पीडितको उद्दारका लागि खटिएको अमेरिकी हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सैनिकको नाम सार्वजनिक गरिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले दुर्घटना भएको झण्डै एक हप्तापछि मंगलबार दुर्घटनामा परी मृत्यु भएका नेपाली तथा अमेरिकी सैनिकको नाम सार्वजनिक गरेको हो । हेलिकप्टरमा २ नेपाली सहित ८ जना अमेरिकी सैनिक सवार थिए ।
उद्धार तथा राहत ढुवानीको निमित्त खट्टिएको यूस मेरिन क्रोपको यू एच वन वाई ह्यूई अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोक जिल्लाको घोर्थलीको डाँडाँमा दुर्घटनाग्रस्त भएको थियो ।
हेलिकप्टर दुर्घटनामा दैलेखका स्थानीय बासिन्दा तथा नेपाली सेनाका सह–सेनानी तपेन्द्र बहादुर रावल र दार्चुलाका स्थानीय बासिन्दा तथा युद्धभैरव गणमा कार्यरत जमदार बसन्त तितराको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सह–सेनानी तपेन्द्र वहादुर रावल मिति २०४२ असोज ३ गते दैलेखमा जन्मनु भई मिति २०६१ भदौ ७ गते नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भई २०६२ भदौ १५ गते सहायक सेनानी दर्जामा कमिशन प्राप्त गर्नु भएको थियो ।
तीक्ष्ण बुद्धि, मिलनसार एवम् पेशामा समर्पित सह सेनानी तपेन्द्रले नेपाली सेनाको बिशेष फौजको नियुक्तिमा रही युद्धभैरव गणमा र शिक्षक अधिकृतको रुपमा नेपाली सैनिक प्रतिष्ठानमा समेत कार्य गर्नु भएको थियो ।
कर्तव्यपालनाको सिलसिलामा मृत्यु भएका जम. बसन्त बहादुर तितरा मिति २०३८ बैशाख २९ गते महाकाली अन्चल दार्चुला जिल्ला शिखर गा.वि.स. वडा नं. २ बारीलमा जन्मनु भई मिति २०५७ बैशाख २० गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भई युद्धभैरव गणमा कार्यरत थिए ।
तालिमकै सिलसिलामा काठमाडौं आएका दुबै सैनिक भूकम्पपछि उद्दार र राहतमा खटिएका थिए । अरुको उद्दार गर्न यी दुबै सैनिकको उद्दार गर्ने कोही भएनन् । यसैबीच नेपाली सेनाले कर्तव्यपालनाको सिलसिलामा मृत्यु भएका दुबै सैनिकप्रति समवेदना प्रकट गर्दै परिवारलाई धर्य धारण गर्न कामना समेत गरेको छ ।