पुनःनिर्माणका लागि खरबौंँ रुपैयाँ लाग्ने

जेष्ठ ५, काठमाण्डौ – अर्थमन्त्री डा रामशरण महतले नेपालको वार्षिक बजेट पेस हुने समय निकट आइरहेकाले भूकम्पपछिको पुनःनिर्माणका कामका लागि स्रोतको व्यवस्था गर्न सहायता सम्मेलन छिटै गर्न लागिएको स्पष्ट पार्नुभएको छ ।

नेपालस्थित विभिन्न मुलुकका राजदूतसँग आज नेपाल सहायता सम्मेलनबारे अर्थ मन्त्रालयमा आयोजित बेग्लाबेग्लै छलफलमा पुनःनिर्माणका लागि खरबौंँ रुपैयाँ लाग्ने बताउँदै अर्थमन्त्री डा महतले भन्नुभयो, “सहायता सम्मेलन अगावै सम्पूर्ण क्षतिको विवरण आइसक्ने र कार्यक्रमको तयारी पनि सँगै आउनेछ ।”
सम्मेलन कहाँ आयोजना गर्ने भन्नेबारे निर्णय नभइसकेको जानकारी दिँदै अर्थमन्त्री डा महतले काठमाडौँमा गर्ने चाहना हुँदा हुँदै भूकम्पका धक्का आइरहने भएकाले होटलको अवस्था मूल्याङ्कन गरी सम्मेलनस्थल परिवर्तन गर्न सकिने समेत जानकारी दिनुभयो ।
मन्त्री डा महतसँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडी, जर्मनेली राजदूत म्याथ्यु मेयर तथा चिनियाँ राजदूत ऊ चुनताइले भेट गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्री डा महतसँग केही दिनअघि नेपालका लागि भारतीय राजदूत रणजित रायले पनि भेट गरी उक्त विषयमा छलफल गर्नुभएको थियो ।
भेटका अवसरमा अमेरिकी राजदूत बोडीले पुनःनिर्माणका लागि स्पष्ट कार्ययोजना हुनुपर्ने र त्यसमा अमेरिकी सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी जर्मनेली राजदूत मेयरले नेपालको पुनःनिर्माणमा जर्मनीले सहभागी हुन चाहेको र विशेषगरी शिक्षा, स्वास्थ्य र सम्पदा निर्माणमा आफ्नो मुलुकको चासो रहेको स्पष्ट पार्नुभयो ।
चिनियाँ राजदूत ऊले नेपाललाई परेको यस विपद्का घडीमा चीन सँधै साथमा रहेको र थाहा पाउनासाथ तुरुन्तै सहयोग टोली नेपालमा पठाइएको जानकारी गराउनुभएको थियो । भेटघाटका अवसरमा राजदूतहरुले सम्मेलन आयोजनास्थल र सुरक्षाबारे जिज्ञासा राखेका थिए ।