भूकम्पमा परी अहिलेसम्म आठ हजार ३४९ जनाको मृत्यु

जेष्ठ २, काठमाण्डौ—भूकम्पमा परी अहिलेसम्म आठ हजार ३४९ जनाको मृत्यु भएको छ । बैशाख १२को भुकम्पमा परी  १७ हजार ८७० जना घाइते भएका छन् । त्यसैगरी बैशाख २९ गतेको अर्को भूकम्पको पराकम्पन्नमा परी ११७ कोे मृत्यु भएको छ भने २ हजार ९ सय ७  जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैविच गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पलगत्तै खसेको पहिरोमा पुरिएका आमाछोरीको शबलाई आज बिहान निकालिएको छ ।
छोरी प्रज्ञालाई खोप लगाएर घर फर्कदै गरेकी गोरखा बारपाक–१ पोखरीकी अञ्जु विकलाई पहिरोभित्रबाट निकालिएको हो । सौरपानी गाविसको झोलुङ्गे नजिकै खसेको पहिरोभित्र आमाछोरी थिचिएका थिए ।
नेपाली सेनाको टोली र जिल्लास्थित सडक कार्यालयबाट खटिएको संयुक्त उद्धार टोलीले शबलाई आज निकालेको भैरवी दल गणका गणपति प्रेमबहादुर थापाले जानकारी दिए । योसँगै बारपाकमा मात्र भूकम्पमा परी ७० जनाको ज्यान गएको छ ।