आज बिहान पनि भूकम्पको ५ वटा पराकम्पनको महसुस

जेष्ठ २, काठमाण्डौ—आज बिहान पनि भूकम्पको ५ वटा पराकम्पनको महसुस गरिएको छ । बिहान ६ बजेर ३१ मिनेटमा गोरखा र धादिङ केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहान ६ सय ११ मिनेटमा नुवाकोट केन्द्रबिन्दु भएर ४ रेक्टर स्केल कै पराकम्प गएको छ । त्यसअघि ४ बजेर २८ र ४ बजेर ३८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
यसैगरी २ बजेर १५ मिनेटमा पनि गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । योसँगै आजैमात्र ५ वटा पराकम्पन गैसकेका छन् । केन्द्रले यस्ता पराकम्पन अझै आउने संभावना भएकाले धेरै नडराउन र सतर्क हुन सबैलाई आग्रह गरेको छ । कहिले, कहाँ र कतिबेला भूकम्प जान्छ भन्ने थाहा नभएकाले सतर्क रहन र हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको हो ।