अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा कालिन्चोक डाँडामा फेला

जेठ १,काठमाडौं – वैशाख २९ गतेको शक्तिशाली भूकम्पछि घाइतेको उद्धार गर्न दोलखा जाने क्रममा हराएको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको कालिन्चोक भगवती नजिकै छेउमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । ११ हजार २०० फिट उचाइमा रहेको कालिञ्चोक डाँडाको उत्तरीपट्टी भेगमा सो हेलिकप्टर शुक्रबार फेला परेको रक्षा सचिव इश्वरी पौडेलले बताए ।

काठमाडौंबाट ६५ किलोमिटर टाढा रहेको दोलखाको घोडथली- ३ मा सो हेलिकप्टर भेटिएको हो । हेलिकप्टरमा रहेका तीनजनाको शव देखिएको त्यहाँ उद्धारमा खटिएको नेपाली सेनाको ‘इक्यु रेल’ नामको हेलिकप्टरले त्रिभुवन विमानस्थलमा रहेको टावरलाई जानकारी गराएको छ ।

भूकम्पपीडितको उद्धार तथा राहत सामग्री लिएर दोलखा गएको अमेरिकी सेनाको हेलिकोप्टर यूएच-१ वाई हुवे मंगलबारदेखि हराइरहेको थियो ।

उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए। बुधबार र बिहीबार सेनाले हवाइ तथा पैदल दुवै खोजी कार्य तीब्र बनाएको थियो ।