राहतको विषयलाइलिएर स्थानीयबासी र प्रहरी विचको झडपमा तीन जना घाइते

जेठ १,नुवाकोट – राहत वितरणको विषयलाई लिएर नुवाकोटको बागेश्वरी गाविसमा स्थानीयबासी र प्रहरी विचको झडपमा तीन जना घाइते भएका छन् ।

गए राती बागेश्वरी गाविसमा राहत लिएर गएको विषयमा वडा नं. ७ र ९ मा राहतको विषयमा कुरा गर्न गएका स्थानीयबासीहरुमाथि बागेश्वरी प्रहरी चौकीका जवानले आफूहरुमाथि कुटपिट गरेको पीडितहरुले बताएका छन् ।
प्रहरीको कुटाइबाट बागेश्वरी गाविस वडा नंं ७ का सहदेव सापकोटाको दाँत भाँचिएर ओठमा टाँका लगाउनुपर्ने गरी घाइते भएका छन् । यस्तै जीतबहादुर खलेको आँखामा चोट लागेको छ भने भरत तामाङको दाइने खुट्टामा चोट लागेको छ । स्थानीय एक नेपाली कांग्रेसको नेतृत्व तहमा रहेका व्यक्तिको निर्देशनमा प्रहरीले आफूहरुमाथि दमन र अत्याचार गरेको पीडित सहदेव सापकोटाले जानकारी दिए ।
राहतको विषयमा एक कांग्रेसका जिल्लास्तरीय कार्यकर्तासहितको प्रहरी टोलीसँग सोधपुछ गर्ने क्रममा प्रहरीले सर्वसाधारणमाथि अत्याचार गरेको स्थानीयबासीहरुले बताएका छन् । सो विषयमा हिजो रातभर बागेश्वरी प्रहरी चौकी क्षेत्रमा तनाव भएको थियो । प्रहरीको अत्याचारपछि स्थानीय गाउँलेहरुले प्रहरी चौकी घेराउ गरी घाइतेहरुको उपचार र दोषीमाथि कारवाहीको माग गर्दै रातभर नाराबाजी गरेका थिए ।
यसैवीच, एकीकृत नेकपा माओवादीका जिल्ला सचिव पुष्ण लामिछानेले जिल्लाभर राहत वितरण कार्यक्रम पारदर्शी र न्यायोचित बनाउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।