भूकम्प प्रभावित जिल्लाको अनुगमन गर्न आज सभासदसहितको टोली जाने

जेठ १,काठमाडौँ – भूकम्प प्रभावित जिल्लाको अनुगमन गर्न आज सभासदसहितको टोली जाने भएको छ । राष्ट्रिय विपद व्यस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा सरकारका कामकारवाहीको अनुगमन तथा निर्देशन गर्न १४ वटा टिम बनाएको छ । त्यो टीमलाई आज पठाइनेछ ।

सभामुख सुवासचन्द्र नेम्वाङ सभापति रहेको समितिको हिजो बसेको बैठकले प्रभावित जिल्लामा अनुगमन उपसमिति खटाउने निर्णय पछि आजबाट सभासद खटिने भएका हुन ।
चार सभासद र सचिवालयका एक कर्मचारी रहेको पाँच सदस्यीय उपसमिति प्रभावित १४ जिल्लाका लागि प्रस्थान गर्नेछन् । उपसमितिलाई एक गतेदेखि पाँच गतेसम्मको समय तोकिएको छ ।
अनुगमन टिमले जिल्लामा भएको राहत वितरणको अवस्था, पुनर्निर्माण र नवनिर्माणमा सरकारले गर्नुपर्ने काम र भइरहेका सरकारी कमीकमजोरीका विषयमा रिपोर्ट तयार पारेर समितिमा पेश गर्नेछ । अनुगमन तथा निर्देशन समितिले त्यही रिपोर्टका आधारमा सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिने छ ।
समितिले भूकम्प प्रभावित १४ जिल्लाका सांसद्लाई आ–आफ्नो जिल्लामा खटिएर काम गर्न निर्देशन दिएको छ । यस्तै प्रभावित क्षेत्रभन्दा बाहिरका अन्य जिल्लाका सांसद्लाई जिल्लामा खटिन र समितिमा नभएका अन्य सभासदलाई राहत संकलनमा जुट्न पनि निर्देशन दिएको छ । संविधान सभाका सदस्यहरुलाई आज देखि १५ गतेसम्म जिल्ला जिल्लामा खटाईने भएकाले संविधान सभाको बैठक पनि स्थगित भएको छ ।
आजकालागी डाकिएको संविधान सभाको बैठक जेष्ठ १७ गते सम्मका लागी सारेको संसद सचिवालयले जनाएको छ । माघ २९ यता संविधानका अन्र्तरबस्तुमा संविधानमा छलफल हुन सकेको छैन ।