लाङटाङमा लगातार पहिरो,क्‍यान्जिङ क्षेत्रबाट एक सय ९५ को उद्धार

बैशाख २९,रसुवा – महाभूकम्पपछि गाउँ नै क्षतविक्षत भएको रसुवाको लाङटाङमा पछिल्लो चार दिनदेखि लगातार हिमपहिरो गइरहेकाले बेपत्ता भएकाहरूको शव खोज्न समस्या भएको छ। लाङटाङमा शुक्रबारदेखि लगातार हिमपहिरो खसिरहेको रसुवा प्रशासनले जानकारी दिएको छ।
हिमपहिरोका कारण लाङटाङमा बेपत्ता भएकाको खोजी गर्न समस्या आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले सोमबार जानकारी दिए। भूक पपछि लाङटाङमा हराइरहेका सयौं पर्यटक तथा स्थानीयको शव अझै भेटिएको छैन।

हिमपहिरो खसिरहेका कारण लाङटाङसँगै जोडिएको क्यान्जिङ उपत्यकामा रहेका एक सय ९५ लाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं र धुन्चे लगिएको रिमालले बताए।

बेपत्ता भएकाको खोजी प्रयास भने जारी रहने उनले बताए। काठमाडौंमा प्रमुख सेनानि अनुपजंग थापाले क्यान्जिङ क्षेत्रमा रहेका सबैको मंगलबारस म उद्धार भइसक्ने जानकारी दिए।

रिमालका अनुसार लाङटाङको हिमपहिरोमा हराएकामध्ये ९० जनाको शव फेला पारी परिवारको जिम्मा लगाइसकिएको छ। अझै पनि हिमपहिरोमा परी तीन सयजना हराइरहेको जानकारी स्थानीयबाट प्राप्त भएको उनले बताए।

सदरमुकाम धुन्चेबाट दुई दिनमा पुगिने लाङटाङ क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र स्थानीयले हिमपहिरोले पुरिएका शव निकाल्ने क्रम पछिल्लो हिमपहिरोले अवरुद्ध गरेको सेनाले जानकारी दिएको छ।

शव खोज्न सेना, प्रहरी तथा स्थानीय टोली अझै लागिरहेका छन्। लाङटाङ क्षेत्रमा दुई हेलिकोप्टरद्वारा स्वदेशी र पर्यटक गरी दुई सय १३ को सकुशल उद्धार गरिएको थियो।

महाभूकम्पले लाङटाङको क्यान्जिन, मुन्डु, थाङस्यापमा ठूलो क्षति पुगेको रिमालले बताए। ‘हिमपहिरोले लाङटाङको नक्सा नै बदलिएको छ’, उनले भने। लाङटाङका सबै ६० घर हिमपहिरोले पुरिएका छन्।

गाउँका घर, होटेल र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ स्थापना गरिएको पोस्ट लाङटाङ खोलामा बढारिएर बगेको छ। बाँचेका सातआठजनालाई त्यहाँबाट अन्यत्र सारिएको थियो।

बोर्डिङ स्कुल बिदा भएर लाङटाङका बालबालिका सहरबाट गाउँ फर्केको र पर्यटकीय मौसमका कारण चहलपहल पनि बढी भएकाले हताहती बढी भएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईले बताए।

त्यस्तै रसुवाको पश्चिमी भेगमा रहेको हाकुबाट सोमबारसम्म एक प्रहरीसहित १३ जनाको शव फेला पारिएको नेपाली सेनाले जनाएको छ। नुवाकोट र रसुवाको सिमाना मैलुङबाट पाँचजना सर्वसाधारणको शव निकालिएको फस्ट राइफल गणका गणपति प्रमुख सेनानी पवन खत्रीले बताए।

नुवाकोटको वेत्रावतीदेखि २० किलोमिटर उत्तरमा रहेको हाकु गाविसमा निर्माणाधीन एक सय २२ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा कार्यरत ५० जना मजदुर, कर्मचारी महाभूकम्पपछि आएको पहिरोमा परेर बेपत्ता रहेको आयोजनाले जनाएको छ।

उनीहरूको खोजी जारी रहेको रसुवा प्रशासनले जनाएको छ। आयोजना क्षेत्रमा भीर तथा खोच रहेकाले होसियारीपूर्वक खोजबिन भइरहेको छ। काम गर्दैगर्दा माथिबाट ठूला ढुंगासहितको पहिरो आएपछि उनीहरू पुरिएको सेनाले जनाएको छ।