आज बिहान पनि ४ दशमलव ४ म्याग्निच्युटको भुकम्पको धक्का महसुस

बैशाख २७, काठमाण्डौ – आज बिहान पनि ४ दशमलव ४ म्याग्निच्युटको भुकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ३४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भुकम्पको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि गएराति १ बजेर ५० मिनेटमा पनि सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ४ दशमलव २ म्याग्निच्युटको भुकम्पको कम्पन गएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार महाभुकम्पपछि १ सय ५५ वटा पराकम्पन गएको छ । पराकम्पनका कारण ठुलो भुकम्प आउने खतरा पनि टर्दै जाने केन्द्रले जनाएको छ ।
यसैबीच भूकम्पमा परी मृत्यु हुनेको संख्या झण्डै आठ हजार पुग्न लागेको नेपाल प्रहरीले जनाएको छ । सरकारले आज पनि भूकम्प पीडितका लागि राहत वितरणको काम जारी राख्ने भएको छ । गृह मन्त्रालयका अनुसार घाइतेको संख्या १७ हजार ८ सय ७१ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म सर्वसाधारणका २ लाख ९७ हजार २ सय ६६ घर तथा १० हजार ८ सय ३ वटा सरकारी भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
वगकतषथस“श्रआंशिक रुपमा दुई लाख ७७ हजारभन्दा बढी निजी घर तथा १५ हजार ३४ सरकारी भवन भत्किएका छन् । जम्मा घरसंख्याको झण्डै एघार प्रतिशत घर ध्वस्त भएको गृह मन्त्रालय अन्तर्गतको आपतकालीन उद्धार केन्द्रले जनाएको छ ।
भुकम्पमा परी हालसम्म ५ सयभन्दा बढी वेपत्ता भएका छन् । काठमाडौं उपत्यकामा ७४ जना वेपत्ता भएको उजुरी परेको छ भने रसुवाको लाङटाङ क्षेत्रमा झण्डै २ सय जना हराईरहेका छन् । लगातार हिउँ पहिरो गइरहेकाले वेपत्ताहरुको खोजीमा कठिनाई भएको बताइएको छ ।
भूकम्पबाट ३१ जिल्लामा मानवीय क्षति भएको छ । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ३ हजार ५७, काठमाडौमा १ हजार २ सय २२, नुवाकोटमा ९ सय ७९, धादिङमा ७ सय १८, रसुवामा ४ सय ९१, गोरखामा ४ सय ७, काभ्रेमा ३ सय १७, भक्तपुरमा ३ सय १५ र ललितपुरमा १ सय ७६ रहेको छ । यता, नेपाल प्रहरीले भने भूकम्पबाट साँढे ६ लाखभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ ।