आवश्यक परे राष्ट्रिय सरकार गठन गरिनुपर्छ – झलनाथ खनाल

काठमाडौं, बैशाख २६- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले विपत्ति बिरुद्ध जुध्न आवश्यक परेको खण्डमा बर्तमान सरकार बिघट्न गरेर राष्टिय सरकार गठन गर्न सकिने बताएका छन् ।

नेता खनालले बर्तमान विपत्ति बिरुद्ध जुध्न आवश्यक तयारी हुन नसक्दा मुलुकले ठूलो विपत्तिको मार खेप्नुपरेको पनि बताए ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा भाग लिँदै पूर्व प्रधानमन्त्री खनालले मुलुकको भौगोलिक अवस्था र यातायातको कठिनाइका कारण तत्काल उद्धार र राहतका काम सोचेअनुरुप अघि बढ्न नसकेको विचार व्यक्त गरे । राहत तथा पुनःस्थापनको कामलाई अघि बढाउँदा मुलुकको भौगोलिक विशेषता र आवश्यकतालाई ध्यान दिएर भूकम्पपीडितको राहतका लागि सबै राजनीतिक दल र सबै पक्ष एकजुट र एकताबद्ध भएर अघि बढ्न नेता खनालले आह्वान गरेका छन् ।

विपत्तिको सामना गर्ने क्रममा राष्ट्रिय सरकारको गठनलाई पनि ध्यान पु¥याउन आवश्यक रहेको बताउँदै वरिष्ठ नेता खनालले वर्षायाम नजिकै आइसकेकाले पुनःस्थापना र पुनःनिर्माणको कामलाई तुरुन्तै तीव्र रुपमा सुरु गरिनु पर्ने तर्क अघि सारे ।

पूर्वप्रधानमन्त्री खनालले भने, मुलुकमा ठूलो भूकम्पकका कारण विध्वंस भयो, यो नयाँ नेपाल निर्माण गर्नका लागि अवसर पनि हो, पुनःनिर्माण गरेर राष्ट्रको स्वाभिमान र अखण्डतालाई जोगाउने विषयमा सबै एकताबद्ध हुनुपर्छ ।