मनकामना केबुलकार सेवा आइतबारदेखि संचालनमा आउने

बैशाख २६,गोरखा – वैशाख १२ गते गएको महाभुकम्पका कारण गोरखाको मनकामना मन्दिरमा पुगेको क्षतिसंगै स्थगित मनकामना केबलकार आइतबारदेखि पुन संचालनमा आउने भएको छ ।

भुकम्पले आंशिक क्षतीसंगै मन्दिर केही ढल्किएपछि पुजापाठमा समस्या पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै मनकामना केबलकार स्थगित गरिएको थियो । मन्दिरमा सामान्य क्षती पुगे पनि हाल मन्दिर बाहिरबाटै पुजापाठ तथा दर्शन गर्ने व्यवस्था मिलाईएपछि भक्तजनहरुको माग अनुसार केबलकार संचालनमा ल्याउन लागिएको स्टेशन म्यानेजर डिएन कायस्थले रेडियो मनकामनालाई जानकारी दिनुभयो ।
यसअघि मनकामना दर्शन प्रालिले भुकम्प पिडितहरुका लागि राहत सामाग्री लिएर आउनेहरुको लागि मात्र केबलकार संचालनमा ल्याएको थियो । केबलकारको माध्यम हुँदै दैनिक हजारौँ दर्शनार्थीहरु मनकामना मन्दिर दर्शन गर्न आउने गर्दछन । अहिले मनकामना मन्दिरलाई काठको टेको लगाएको छ ।