इन्डोनेसियामा दुई अष्ट्रेलियाली नागरिकलाई मृत्युदन्ड दिने तयारी

बैशाख ११, काठमाण्डौ— इन्डोनेसियाले लागूऔषध ओसार–पसारको मुद्दा खेपिरहेका दुईजना अष्ट्रेलियाली नागरिकलाई मृत्युदन्ड दिने तयारी गरेको छ । एन्ड्रयु चान र म्युरान सेकुमरनलाई मृत्युदन्ड दिन लागिएको हो ।उनीहरुलाई इन्डोनेसियाबाट अष्ट्रेलियातर्फ हिरोइन लैजाँदै गरेको अवस्थामा सन् २००५ मा पक्राउ गरिएको थियो । उनीहरुको साथै अन्य सातजनाको पनि यो प्रकरणमा संलग्नता रहेको बताइएको छ ।

‘बाली नाइन’ नाम दिइएको सो प्रकरणमा संलग्नहरुलाई २००६ मै अदालतले दोषी ठहर गरेको थियो । दोषी पाइएका अन्य व्यक्तिहरु पनि इन्डोनेसियाका विभिन्न जेलहरुमा मृत्युदन्डको पर्खाइमा छन् ।इन्डोनेसियाली सरकारका प्रवक्ताका अनुसार मृत्युदन्डको दिन भने तोकिएको छैन । मृत्युदन्ड पाउने व्यक्तिलाई कम्तीमा ७२ घन्टाअघि जानकारी गराइन्छ । आममाफीका उनीहरुले राष्ट्रपतिसमक्ष गरेको क्षमायाचना माग अस्वीकृत भैसकेको छ । (एजेन्सी)