स्पेनको रियाल मड्रिड र ईटालीको युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

वैशाख १०,काठमाण्डौ – स्पेनको रियाल मड्रिड र ईटालीको युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराती आफ्नै मैदानमा भएको क्वाटरफाईनल दोस्रो लेगको खेलमा रियाल मड्रिडले आफ्नै शहरको प्रतिद्धन्दी एथ्लेटिको मड्रिडलाई १—० ले हरायो ।
खेलमा रियाललाई विजयी गराउन हेभियर हर्नान्डेजले निर्णायक गोल गरे । यसअघि एथ्लेटिको मड्रिडको मैदानमा सम्पन्न पहिलो लेगको खेल गोलरिहत बराबरीमा सकिएको थियो । गएराती भएको अर्को खेलमा इटालीको युभेन्टसले फ्रान्सको मोनाकोसँग गोलरहित बराबरी खेलेको छ ।
मोनाकोको मैदानमा सम्पन्न दोस्रो लेगको खेल बराबरीमा सकिएपछि युभेन्टस समग्रमा १—० ले विजयी भएको हो । यसअघि आफ्नै मैदानमा भएको पहिलो लेगको खेल युभेन्टसले १—० ले जितेको थियो ।
गएरातीका खेलहरुसँगै च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लागेको छ । यसअघिका क्वाटरफाइनल खेलहरु जित्दै स्पेनिस जायन्ट बार्सीलोना र जर्मनीको बायर्न म्युनिख सेमिफाइनलमा पुगिसकेका छन् ।