वैशाख ८,काठमाण्डौ – नेकपा–माओवादीले एकीकृत नेकपा(माओवादी)सँगको एकता वार्तालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
सो पार्टीको वैशाख ३ देखि ७ गतेसम्म चलेको पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव रामबहादुर थापाद्वारा जारी विज्ञप्तिमा पार्टीले यसअघि राखेको सात बुँदाका विषयहरूमा वैचारिक÷राजनीतिकरूपमा समान धारणा र सिद्धान्तनिष्ठ एकताको लागि वार्तालाई प्रभावकारी बनाउने निर्णय गरेको उल्लेख छ ।
बैठकले पार्टी एकता सम्बन्धमा नेकपा (एकीकृत) सँग आधारभूत वैचारिक÷राजनीतिक प्रश्नहरूमा सहमति देखिएकाले सङ्गठनात्मक एकीकरणको प्रक्रिया अगाडि बढाउन पहल गर्ने र वैचारिक÷राजनीतिक प्रश्नहरूमा अन्य क्रान्तिकारी कम्युनिस्ट घटकहरूसँग पनि वार्ता गर्ने निर्णय गरेको छ ।
गत फागुन १ गतेबाट पार्टीले सुरु गरेको दुई महिने मेची–महाकाली कार्यक्रम जन परिचालनसम्बन्धी काममा अपेक्षा गरेअनुरुप अगाडि बढ्न नसकेता पनि सङ्गठनको गठन, पुनःगठन, व्यवस्थापन र सामान्य जनसम्पर्कका दृष्टिले सफल रहेको संश्लेषण बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले मेची–महाकाली अभियानलाई अरू थप पाँच महिनासम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
राष्ट्रियता, जनसंविधान, जनजीविका, शान्ति सम्झौताको उल्लङ्घनलगायतका विषयहरूमा साझा सहमति हुने घटक वा समूहहरूसँग कार्यगत एकता गरी आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।