भूमध्यसागरमा पानी जहाज डुब्दा ८ सय मारिएः राष्ट्रसंघ

वैशाख ८,काठमाण्डौ – संयुक्त राष्ट्र संघीय एजेन्सी यूएनएचसीआरले भूमध्यसागरमा दुई दिनअघि भएको पानी जहाज दुर्घटनामा ८ सय जनाले ज्यान गुमाएको जनाएको छ।

इटालीस्थित संयुक्त राष्ट्रसंघका प्रवक्ता कार्लोट्टा सामले दुर्घटनामा ८ सय मारिएको बताएका हुन् । इटाली प्रहरीले यस विषयमा दुई जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका मध्ये एक जना पानी जहाज चालक र अर्का जहाज मालिक रहेको अनुमान गरिएको छ।
गत आइतबार लिबियाको समुद्री तट क्षेत्रमा भएको दुर्घटनामा ठुलो संख्यामा आप्रवासी यात्रु मारिएका थिए । संयुक्त राष्ट्रसंघ र आप्रवासी सम्बन्धी संगठनहरुले दुर्घटनामा बचेका २७ जनासँग कुराकानी गरेका छन्।
प्रवक्ता सामीले भने–जहाजमा ८ सयभन्दा केही बढी व्यक्ति सवार थिए । जसमा १० देखि १२ वर्षका बालबालिकासमेत थिए । जहाजमा सिरियाली सोमालियन एरिट्रियाई नागरिक सावर थिए । उनीहरु शनिबार लिबियाको त्रिपोलीबाट हिँडेका थिए । बचेकामा माली, गाम्बिया, सेनेगल, सोमालिया र बंगलादेशका नागरिक छन् ।
युरोपेली संघको विदेश नीतिका प्रमुख फेडरिका मोघोरिनीले भूमध्यसागरमा हुने दुर्घटनाको सामना गर्न दश विन्दुको एउटा योजना बनाएको बताएका छन्।
योजना अनुसार बचाउ अभियान बलियो बनाइनेछ भने तस्करहरुको जहाज नष्ट गर्नका लागि पनि अभियान चलाइनेछ।
पछिल्लो समय लिबिया र अन्य देशमा जारी हिंसाका कारण भूमध्य सागरमा हुने दुर्घटना बढेको छ। यसबाट इटालीसहितका युरोपेली मुलुक समस्यामा परेका छन् ।
युरोपेली मुलुकहरुले यसप्रकारका शरणार्थीलाई बचाउने कम गर्ने निर्णय गरेका थिए । उत्तरी अफ्रिकी मुलुकबाट आइरहेका शरणार्थीको सामनाका लागि भूमध्यसागर पार गरेपछि सबैभन्दा पहिला इटाली देखिन्छ। यसकै कारण यो समस्या बढी इटालीले सामना गर्ने गरेको छ। एजेन्सी