लाखौको टाउकाको मूल्य तोकिएका माओवादी नेता पक्राउ

बैशाख ४, काठमाण्डौ— भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेता शिवप्रसाद सिंह राँचीबाट पक्राउ परेका छन्। राँचीका एसएसपी प्रभातकुमारले उनी पक्राउ परेको पुष्टि गरेका हुन् । नेता सिंहमाथि सरकारले २५ लाख भारतीय रुपैयाँ पुरस्कार राखेको थियो ।

सिंहलाई पार्टीभित्र रोहित, पवन र रितलालका नामले पनि चिनिने बताएका छन्। उनी भाकपा माओवादीको विशेष एरिया कमिटिका सक्रिय सदस्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शिवप्रसाद सिंह बिहारको जहानावाद जिल्लाको करोना थाना क्षेत्र निवासी हुन् । बिहारको औरगावादमा उनीविरुद्ध कयौ मुद्दा छन्।
प्रहरीका अनुसार बिहारमा पनि उनको टाउकाको मुल्य दश लाख भारतीय रुपैयाँ तोकिएको छ। पक्राउपछि प्रहरीले उनीसँग लगातार सोधपुछ गरिरहेको जनाएको छ। प्रहरीले सिंह कयौ माओवादीका बरिष्ठ नेताको निकट रहेको दावी गरेको छ।
प्रहरीले सिंहलाई राँची जिल्लाको पिठौरिया थाना क्षेत्रको नकारी जंगल नजिकबाट पक्राउ गरेको जनाएको छ। झारखण्डमा पनि आधा दर्जन बढी माओवादी घटनामा उनको संलग्नता रहेको आशंका गरिएको छ। माओवादी संगठनमा प्रहरी र प्रशासनविरुद्ध रणनीति तय गर्ने र लडाकु दस्ता तयार गर्न सिंहको मूख्य भूमिका रहेको बताइएको छ।
प्रहरीले सिंह बिहार, झारखण्डका साथै छत्तीसगढमा पनि सक्रिय रहेको दावी गरेको छ। सन् १९८४ मा सीपीआई पार्टी युनिटिसँग जोडिएका थिए । सन् २००४ मा उनी भाकपा माओवादीका सदस्यका रुपमा काम गरिरहेका थिए । एजेन्सी