पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदै,

बैशाख ४, काठमाण्डौ—पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ । प्रधानमन्त्री निवासमा आकस्मीक बसेको मन्त्रिपरिषद्को बैठकले थापाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । विदेशस्थित नेपाली नियोगमा पनि राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
पूर्व प्रधानमन्त्री एवम् संविधानसभाका ज्येष्ठ सदस्य थापाको असामयिक निधनप्रति शोक प्रकट गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो ।
पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थापाको पाथिर्थ शरीर हिजो बेलुकी काठमाडौं ल्याइपुर्याइएको थियो । उपचारका क्रममा बुधबार राती भारतको नयाँदिल्लीमा निधन भएको थापाको पाथिर्थ शरीर काठमाडौ ल्याइपुर्याइएको हो ।
उहाँको पाथिर्थ शरीर काठमाडौको मालिगाउँमा रहेको निवासमा राखिएको छ । आज  विहान श्रद्धाञ्जलीका लागि चाबहिलमा रहेको राप्रपाको पार्टी कार्यालयमा राखिने छ ।
विहान १० बजेदेखि १२ बजेसम्म पार्टी कार्यालयमा राखि त्यसपछि थापाको पाथिर्थ शरीर त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा राखिने राप्रपाका अध्यक्ष पशुपतिशमसेर राणाले जानकारी दिनुभयो । त्यसपछि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
यसैविच थापाको शव यात्राको मार्गमा कुनै पनि गाडी नचलाउन गृह मन्त्रालयले आग्रह गरेको छ । पूर्व प्रधानमन्त्री थापाको पाथिर्थ शरीरलाई दिउँसो २ बजे काठमाण्डूको दशरथ रंगशालाबाट सुन्धारा, बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो वानेश्वर, बत्तिसपुतली र गौशालाको बाटो हुँदै पशुपति आर्यघाट पुर्याईने भएकाले त्यतिबेला त्यो मार्गमा गाडी नचलाउन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले शवयात्रा अवधिभर अवश्यक अनुसार काममा जान परे वैकल्पिक मार्ग प्रयोग गर्न सबैसँग अनुरोध पनि गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले शव यात्रा सुरु हुनु भन्दा १ घण्टा अगाडीदेखि नै शव यात्राको मार्गमा गाडी प्रवेशमा रोक लगाउने जनाएको छ ।