पूर्वप्रधानमन्त्री थापाको निधनप्रति शोक मनाउन शुक्रबार सार्वजनिक बिदा

वैशाख ३, काठमाडौँ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति शोक मनाउन शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । विहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार सार्बजनिक विदा दिने निर्णय गरेको हो । थापाको उपचारक्रममा भारतको मेदान्त अस्पतालमा हिजो राति निधन भएको थियो ।

त्यसैगरी एक दिन आधा झण्डा झुकाउने र स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगहरुमा एक दिन विदा दिने बैठकले निर्णय गरेको छ ।सरकारले थापाको अन्तिम दाहसंस्कार गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । बिहीबार बसेको राप्रपा केन्द्रीय समितिको बैठकले समिति गठन गरेको हो । समितिमा सरकारका तर्फबाट सचिव नारायण गोपाल मलेगु र परिवारका तर्फबाट नाति सिद्धार्थ थापा सदस्य छन् ।

थापाको बिदाइमा बिमानस्थलको नेपाली सेनाको ११ नम्बर बाहिनीको टुकडीले सलामी अर्पण गर्ने बताइएको छ । थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा र १ बजेदेखि दशरथ रंगशालामा राखिने र अपरान्ह चार बजे राजकीय सम्मानका साथ आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

बिहीबार बसेको राप्रपाको बैठकले थापाको निधनमा १३ दिनसम्म शोक मनाउने र सात दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, १३ दिनसम्म पार्टीको कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेकोे छ ।