उदारवादी नेता गुमाएँ, मर्माहत छु- प्रधानमन्त्री

वैशाख ३, काठमाडौँ -प्रधानमन्त्री सुशील कोइरालाले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । उहाँले नेता थापाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारसहित स्वजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

“मुलुक लोकतान्त्रिक संविधान निर्माणको संवेदनशील चरणमा रहेको अवस्थामा थापाजस्ता अनुभवी राजनीतिज्ञको सानिध्यले लोकतान्त्रिक संविधान निर्माणमा सबैलाई प्रेरणा मिल्दै आएको थियो, उहाँको निधनबाट लोकतान्त्रिक पद्धतिको स्थापना र विकासका लागि नेपाली जनताले झन्डै एक शताब्दी अगाडिदेखि गर्दै आएको सङ्घर्षको परिणामस्वरुप हासिल भएका सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माणमा थापाजस्ता अनुभवी राजनीतिज्ञको सहभागिता र परिपक्व सुझावकोे अभाव हामीलाई आगामी दिनमा खट्किने छ”प्रधानमन्त्रीबाट आज जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री कोइरालाले उहाँको निधनबाट नेपालको राजनीतिक क्षेत्रले एक महत्वाकाक्षी, साहसी, दृढनिश्चयी, परिवर्तनलाई सहर्ष स्वीकार गर्ने कर्मठ र उदारवादी नेता तथा राप्रपाले कुशल सङ्गठक, प्रभावशाली नेता र संस्थापक अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ ।

उहाँका सद्गुणबाट प्रेरणा लिएर लोकतान्त्रिक संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दललाई एक जुट हुन आग्रह गर्दै प्रधानमन्त्रीले नेपाल र नेपालीको भविष्य सुरक्षित र उज्यालो बनाउने लोकतान्त्रिक संविधानको निर्माण नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गर्नुभएको छ छ ।