थापाको निधनप्रति राप्रपाद्वारा शोक प्रस्ताव पारित

बैशाख ३, काठमाण्डौ –राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको आज बिहान यहाँ बसेको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको निवास महाराजगञ्जमा बसेको बैठकले पूर्वप्रधानमन्त्री एवम् सभासद् थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा भएको निधनबाट पार्टीलाई गम्भीर बनाएको ठहर गरेको छ ।
सो प्रस्तावमा मुलुक सङ्क्रमणकालमा लम्बिँदै गएको अवस्थामा सहमतिबाट यथाशीघ्र संविधान निर्माण गर्नुपर्छ भन्ने एउटा राजनेता मुलुकले गुमाएको छ, यो पार्टी र मुलुकका लागि अपूरणीय क्षति भएको छ उल्लेख गरिएको छ ।
बैठकले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ । स्व थापाको पार्थिव शरीर भारतीय सरकारको विशेष विमानद्वारा आज अपराह्न काठमाडौँ ल्याइने भएको छ ।
काठमाडौँ ल्याएपछि थापाको पार्थिव शरीरलाई उहाँको निजी निवास मालीगाउँमा भोलि बिहानसम्म राखिने पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
स्व थापाको पार्थिव शरीर भोलि बिहान १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि १२ बजे दशरथ रङ्गशालामा राखिने बताइएको छ ।
पूर्वप्रधानमन्त्री थापाको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाले जनाएको छ ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाको निधनप्रति लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाले पनि विज्ञप्ति जारी गरी समवेदना व्यक्त गरेको छ ।
सो पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा आज दिउँसो १ बजे आकस्मिक बैठक बोलाइएको पार्टीका प्रचारप्रसार समितिका संयोजक मीना सुवेदीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।