नेपाली राजनीतिका शिखर पुरूषको अवसानः कमल थापा

बैशाख ३, काठमाण्डौ – पूर्व प्रधानमन्त्री सूर्षबहादुर थापाको गएराति भारतमा उपचारका क्रममा निधन भएको छ। नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचारको क्रममा निधन भएको हो।यसैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले थापाको निधनले मुलुकमा अपुरणिय क्षति पुगेको भन्दै नेपाली राजनीतिका एक शिखर व्यक्तित्वको अवसान भएको बताएका छन्।

बिहीबार बिहान आफ्नो फेसबुक पेजमार्फत दिएको शोक सन्देशमा उनले भनेका छन्-
नेपाली राजनीतिका एक शिखर व्यक्तित्वको आज अवसान भएको छ। सूर्य बहादुर थापा समकालिन नेपालको अग्रज राजनीतिज्ञ तथा प्रजातन्त्रवादी नेता हुनुहुन्थ्यो। उहाँको दुःखद निधनबाट म,मेरो परिवार तथा राप्रपा नेपाल अत्यन्त मर्माहत भएका छौ। देश जटिल संक्रमणको स्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा उहाँको निधन अपुरणिय राष्ट्रिय क्षति हो।
नेपाली राजनीतिले एक अभिभावक गुमाएको छ। स्व. थापा कुशल प्रशासक, दूरदृष्टि भएका नेता तथा बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो। उहाँमा परिस्थितिको सटिक बिष्लेशण गर्ने र समयलाई ठिक ढंगबाट पहिचान गर्न सक्ने विचित्र क्षमता थियो। जस्तोसुकै कठिन परिस्थितिमा पनि पटक्कै विचलित नभई चुनौतीलाई सामना गर्ने साहस र दृढता उहाँले निरन्तर कायम राख्नु भयो। राष्ट्रियता र प्रजातन्त्र प्रतिको उहाँको निष्ठा सदैव अबिचलित रह्यो। लामो राजनीतिक यात्राका क्रममा उहाँले राष्ट्रको लागि पुर्‍याउनु भएको योगदान सदैव अविस्मरणीय रहने छ। एक उदार प्रजातन्त्रवादी नेताको रुपमा देशले स्व थापालाई सम्झि रहने छ।
उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु। साथै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु-कमल थापा