मौसम खराबीका कारण सगरमाथा आधार शिविरमा समस्या

बैशाख २,सोलुखुम्बु – सगरमाथा आरोहण सुरु हुने बेलामा भएको मौसम खराबीका कारण सगरमाथाको आधार शिविरमा समस्या उत्पन्न भएको छ ।सगरमाथा आरोही एक÷दुई दिन अघिदेखि नै आधार शिविरबाट अघि बढ्ने कार्यक्रम रहेको भए पनि मौसम खराबीका कारण आधार शिविरमा नै बस्न बाध्य भएका छन् । तीन दिनअघि पहिलो शिविरमा पुगेका आरोही पनि लगातार मौसम खराबी भई हिमपात भएपछि आधार शिविरमा फर्किएका आरोहण दलका सदस्य एवम् सोलुखुम्बु टाप्टिङ निवासी आङफुला शेर्पाले आधार शिविरबाट जानकारी दिनुभयो ।

यसबेला धेरै आरोही पहिलो तथा दोस्रो शिविरमा पुगिसक्नुपर्नेमा आधार शिविरमा बसेकाले त्यहाँ अत्यधिक भीड बढेको छ । आधार शिविरमा बढेको भीडका कारण पाल टाङ्नसमेत समस्या हुन थालेको शेर्पाको भनाइ छ ।
आरोहण दलका सदस्य, खाना पकाउने तथा भारी बोक्ने सहयोगीसमेत गरी अहिले आधार शिविरमा भीड लागेको हो । आधार शिविरबाट अघि बढ्ने बेलामा भएको हिमपातका कारण जोखिम बढाएको र यसअघि दोस्रो शिविरसम्म बनाइएको बाटोसमेत हिमपातका कारण बिग्रिएकाले आरोही चिन्तित बनेका छन् ।
गत वर्ष वैशाख ५ गते सगरमाथामा गएको हिमपहिरोका कारण १६ जनाले ज्यान गुमाएका थिए । घटनापछि गत वर्ष सगरमाथा आरोहण स्थगित भएको थियो ।