अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने दौडमा हिलारी क्लिन्टन

चैत्र ३०, काठमाडौ- अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले सन् २०१६ मा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीको उम्मेदवारीका लागि दावी प्रस्तुत गरेकी छन्।

हिलारी क्लिन्टनले आइतबार आफ्नो अभियानका वेभसाइटसमेत सुरु गरेकी छन् । उनले आफू अमेरिकी नागरिकलाई ‘च्याम्पियन’ बनाउन चाहेको बताएकी छन्।
हिलारीले सन् २००८ मा पनि डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारी पेस गरेकी थिइन् । तर उनी वर्तमान राष्ट्रपति बाराक ओबामासँग पराजित भएकी थिइन् ।
गत कयौ महिनादेखि हिलारी क्लिन्टन राष्ट्रपति पदको दौडमा सामेल हुने सम्भावना व्यक्त गरिएको थियो । हिलारीका श्रीमान बिल क्लिन्टन अमेरिकाका ४२औं राष्ट्रपति हुन् ।
यदि हिलारीले राष्ट्रपति पदको निर्वाचन जितेको खण्डमा उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति हुने छिन् ।
बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थनी जर्करका अनुसार हिलारीका लागि डेमोक्रेटिक पार्टीको उम्मेदवारी जित्न सहज छ । तर, राष्ट्रपति चुनाव जित्न भने केही कठिन हुनेछ ।
किनभने उनको पार्टी विगत आठ वर्षदेखि सत्तामा छ । अहिले अमेरिकामा पनि सत्तारुढ दल विरोधको सामना गरिरहेको छ।
पूर्व प्रथम महिला तथा सांसद हिलारी क्लिन्टनसँग लामो अनुभव छ । तर, उनलाई अमेरिकी राजनीतिमा एक विभाजित व्यक्तित्वका रुपमा लिने गरिन्छ । राष्ट्रपति बाराक ओबामाले शनिबार उनको प्रशंसा गर्दै उनी शानदार राष्ट्रपति सावित हुने बताएका थिए । एजेन्सी