सहमतिका नाममा कांग्रेस र एमालेले संविधान लेखनको काम नरोक्ने

चैत्र ३०, काठमाडौ- सत्तारूढ कांग्रेस र एमालेले संविधान लेखनको काम नरोक्ने निर्णय गरेका छन् ।

सहमतिमा संविधान जारी गर्ने कुनै पनि विकल्पमा एमाओवादी सहमतिमा आउन नचाहेको निष्कर्ष निकाल्दै दुई दलले संविधानसभामा प्रश्नावली समितिको प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको दुई दलको शीर्ष बैठकले साढे दुई महिनासम्म संविधानसभा बैठक स्थगित हुदा पनि एमाओवादी छलफलका क्रममा राखिएका सहमतिका विकल्पमा सहमत हुनुको सट्टा पुनः अनन्तकाल बैठक स्थगित गराउने खेलमा लागेको निष्कर्ष निकालेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पुनः संविधानसभा बैठक अनिश्चितकाल स्थगित गरेर छलफल जारी राख्नुपर्ने प्रस्तावसहित सभाध्यक्ष सुवास नेम्वाङलाई भेटेर ‘लबिङ’ थालेपछि कांग्रेस–एमालेले अब कडा रूपमा प्रस्तुत हुने संकेत गरेका हुन् ।