उपनिर्वाचनमा कां‍ग्रेस २ हजार मत अन्तरले विजयी

चैत २९, काठमाडौ – बागलुङ क्षेत्र नं–१ मा भएको उप निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । अाइतबार साँझ मत गणना सकिँदा नेपाली कां‍ग्रेसकी चम्पादेवी खड्काले १७ हजार १ सय ५४ मत ल्याएर जित हासिल गरेकी हुन् ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार मना केसीले १५ हजार ६८ मत ल्याएकी छन् । का‌ंग्रेस उम्मेदवार २ हजार ८६ मत अन्तरले विजयी भएकी जिल्ला निर्वाचन अधिकृत टोलराज उपाध्यायले जानकारी दिए । उपनिर्वाचनमा एकीकृत नेकपा माओवादीका कृष्ण केसीले २५ सय ५ मत र राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकीले १९ सय ४९ मत ल्याएका छन् ।

यसअघि त्यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार हरिबहादुर खड्काले जित हासिल गरेका थिए । उनको दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

गत संविधानसभाको निर्वाचनमा बागलुङ क्षेत्र नं–१ बाट विजयी कांग्रेका हरिबहादुर खड्काले १३ हजार पाँच सय मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिराबहादुर खत्रीले ११ हजार नौ सय ६३ मत पाएका थिए । त्यसैगरी एमाओवादीका कृष्णबहादुर केसीले ६ हजार छ मत पाएका थिए ।

पहिलेको तुलनामा कांग्रेसले तीन हजार छ सय ५४ मत, एमालेले तीन हजार एक सय पाँच मत बढाएका छन् भने एमाओवादीले तीन हजार पाँच सय एक मत गुमाएको छ । यस पटक एमाओवादीको जमानत पनि जफत भएको छ । खसेको मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी फिर्ता नहुने नियम छ । यस पटक एमाओवादीले केही साना दलको साथ समेत लिएको प्रचार गरिएको थियो ।